भक्तपुर पुगेर लीले भने- नेपाली र चिनियाँ कलासंस्कृति मिल्दोजुल्दो
पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै नेता लीले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिएका थिए।
भक्तपुर, भदौ २९ : नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन्।
बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सिर्जना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गरेका थिए।

अध्यक्ष लीसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उनको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गरेका थिए। अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताएका थिए।
उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए। पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे पनि जानकारी लिएका थिए।

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिबारे जानकारी गराएका थिए। भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएका थिए।
अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राखेको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराएका थिए।

प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग) को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका थिए। अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राखेको प्रमुख लासिवाले जानकारी दिए।
पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराएका थिए।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरु प्रदर्शन गरेको थियो। तस्बिरहरुको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराए। यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराइएको थियो।
जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै उनले विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुबीच समानता रहेकोसमेत बताए।

पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गरेका थिए। बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशन प्रदान गरिएको थियो। कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो।
अध्यक्ष लीले नगरप्रमुख प्रजापति, संघीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गरेका थिए। टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०ः२० बजे फर्किएको थियो।
अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले मंगलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। मंगलबार नै दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार विशेष विमानबाट नेपाल आउनुभएका उनले सोही दिन सभामुख सापकोटासँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
.jpg)
अध्यक्ष ली नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।










