प्रधानन्यायाधीश जबरासँग पूरक प्रश्न सोध्ने समितिको तयारी
काठमाडौं, भदौ २९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग पूरक प्रश्न सोध्ने महाअभियोग सिफारिश समितिले तयारी गरेको छ।महाअभियोग समितिले जबरासँग पाँच दिनमा ४३...
काठमाडौं, भदौ २९ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग पूरक प्रश्न सोध्ने महाअभियोग सिफारिश समितिले तयारी गरेको छ।
महाअभियोग समितिले जबरासँग पाँच दिनमा ४३ प्रश्न सोधेको थियो। त्यसमा उनले राजनीतिक दलका नेता, न्यायाधीश, कानून व्यवसायीलाई आरोपित गरेका थिए।
यसअघिका तयार गरिएका ४३ प्रश्नमा चित्त नबुझेपछि समितिले पूरक प्रश्न सोध्ने तयारी गरेको हो। यसका लागि आज महाअभियोग सिफारिश समितिको बैठक बोलाइएको समितिका सदस्य एवं नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बताए।
सत्तारुढ दलका ९८ जना सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा छन्।
उनीमाथि महाअभियोग अघि बढाउन प्रतिनिधिसभाले महाअभियोग सिफारिश समिति गठन गरेको थियो। समितिले पाँच दिन लगाएर जबराको बयान लिएको छ।
बयानका क्रममा जबराले आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य सकिएको दाबी गरेका छन्। उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिक दलमाथि नै विभिन्न आरोप लगाएका छन्।
त्यस्तै, समितिले जबराले आरोप लगाएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ। जसमा राजनीतिक दलका नेता, पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, वरिष्ठ अधिवक्ता, नेपाल बार एसोसिएसनका पदाधिकारी लगायत रहेका छन्।
त्यसको तयारीका लागि आज समितिको बैठक बोलाइएको विश्वकर्माले बताए।










