Kathmandu Press

पहिरोले अवरुद्ध बेनी-भकिम्ली सडक तीन महिनापछि सञ्चालन

पहिरोले अवरुद्ध बेनी-भकिम्ली सडक तीन महिनापछि सञ्चालन

म्याग्दी, भदौ २९ : गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा आएको छ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो। पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए।

Hardik ivf

बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा आएको स्थानीय शेरबहादुर घर्तीले बताए। गत वर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो। पहिरोले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन्। भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ।

 

प्रकाशित मिति: ०८:०७ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्