यी गन्यमान्यविरुद्ध चोलेन्द्र यतिबिघ्न क्रुद्ध किन?
बयानमा राणा सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्तालगायत कानुनव्यवसायीविरुद्ध खनिएका छन्।
काठमाडौं, भदौ २८ : महाभियोग सिफारिस समितिमा ३५ वटा प्रश्नको जवाफ दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबार आफ्नो बयान सकाए।
बयानमा राणा सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्तालगायत कानुनव्यवसायीविरुद्ध खनिएका छन्।
सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की तथा अन्य न्यायाधीशहरु मीरा खड्का (हाल अवकाश), ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको नामै लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आफूविरुद्ध उचालेको आरोप उनले लगाएका छन्। उनीहरुकै कारण आफूमाथि महाभियोग लाग्ने अवस्था आएको दाबी राणाको छ।
जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायत कानुन व्यवसायीप्रति पनि कटु लाञ्छना लगाए। न्यायाधीशमा भाग नपाएकोदेखि अदालतमा सेटिङ गर्न नपाएकोसम्मका आरोप राणाले लगाएका छन्।
सर्वोच्च अदालतमा ७–८ जना वरिष्ठ अधिवक्ताहरुको गिरोह रहेको भन्दै उनले कानुनव्यवसायीको तेजोबध गरेका छन्। त्यही वरिष्ठको गिरोहले सर्वोच्चमा ‘सिन्डिकेट’ चलाएको र गिरोहको सिन्डिकेट हटाउँदा आफूविरुद्ध रिस साँधेको ठोकुवा राणाको छ।
विगतमा पनि महाअभियोगको नेतृत्व पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले लिएको र अहिले पनि रमणले नै लिएको किटानी राणाको छ। सर्वोच्च अदालतमा भूमिका खेल्न नपाएको, न्यायाधीश नियुक्तिमा भूमिका खेल्न नपाएको, मुद्दामा चलखेल गर्न नपाएको रिसले आफुविरुद्ध आरोपित गरेको राणाले बताएका छन्। त्यो ग्रुपलाई तोडिदिएकाले प्रतिशोध साँधेको दाबी बयानमा राणाले गरेका छन्।
यति मात्र होइन, उनले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता ओमप्रकाश अर्यालको पनि नाम पनि मुछेका छन्। अर्याल उनकी श्रीमती पुनदेवी महर्जनलाई उच्च अदालतको न्यायाधीश नबनाइदिएकै कारण आफूविरुद्ध उत्रेको आरोप राणाको छ। ‘क्यारेक्टर’ एकदमै गम्भीर रहेको भन्दै राणाले बयानमा अधिवक्ता अर्याललाई होच्याएका छन्।
बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले महर्जनको नाम दुईपल्टसम्म न्यायाधीशका लागि सिफारिस गरेको र दुवैपल्ट आफूले इन्कार गरेका कारण इबी साँधेको दाबी राणाको छ। त्यसपछि आफूविरुद्ध उजुरी लिएर अर्याल सम्पत्ति शुद्धीकरणसम्म गएको भनेका छन्।
पूर्वन्यायाधीश समाजका पदाधिकारीलाई त राणाले ‘घनघोर मण्डले’को संज्ञा दिँदै गालीगलौज गरेका छन्। भाग नपाएका कारण आफूविरुद्ध उत्रेको लाञ्छना उनले लगाएका छन्।
आक्रोश पोख्ने क्रममा राणाले पूर्वन्यायाधीश समाजमा टोपबहादुर सिंह, पवनकुमार ओझा र शम्भु खड्काको नामै लिएर ‘मण्डले’को संज्ञा दिँदै बदनाम गर्न खोजेका छन्।
यति मात्र होइन, राणाले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि भाग नपाएका कारण जाइलागेको भनेका छन्।
मुद्दामा, न्यायाधीश नियुक्तिमा र अर्को न्यायाधीश सरुवामा ‘इन्ट्रेस्ट’ पूरा नभएका कारण पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीश समाज र बारले विरोध गरेको दाबी राणाले गरे।
अदालतपछि राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष बन्न पूर्वप्रधानन्यायाधीश रायमाझी र श्रेष्ठको लर्को रहेको भन्दै आफुले चाहना पूरा गर्न नसक्दा आफ्ना विरुद्धमा विज्ञप्ति नै निकालेर जाइलागेको दोष राणाले लगाएका छन्। यी आरोप र दोषारोपणको प्रतिवादका लागि संसदीय छानबिन समितिले सम्बद्ध व्यक्तिलाई पनि डाक्ने भएको छ।











