Kathmandu Press

ओलम्पियन हारेको दिन नेपालले पूरा गर्‍यो शतकीय स्वर्ण

काठमाडाैं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले ऐतिहासिक यात्रा तय गर्‍यो।

नेपालले दक्षिण एसियाली खेलकुद (....

ओलम्पियन हारेको दिन नेपालले पूरा गर्‍यो शतकीय स्वर्ण

काठमाडाैं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले ऐतिहासिक यात्रा तय गर्‍यो।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा सयौं स्वर्ण संख्या पूरा गर्दा ओलम्पियन निशा रावल भने रजतमा सीमित भइन्। तेक्वान्दो क्वीन निशा ७३ केजी माथि फाइनलमा पराजित हुँदै रजतमा सीमित भइन्।

अधिकांश खेलाडीले स्वर्ण जितेको तेक्वान्दो र कराँतेमा आशा गरिएकी निशाले भने निरास पारिन्। सातदोबाटोस्थित तेक्वान्दो हलमा निशा फाइनलमा भारतकी रोदाली वर्वाले ३२-९ को स्कोरमा पराजित हुँदै स्वर्ण जित्नबाट चुकिन्।

निशा चुकेपनि सक्षम कार्कीको नाममा ऐतिहासिक सयौं स्वर्ण पुर्‍याउने खेलाडीको कीर्तिमान रह्यो। कार्कीले बुधबार ८७ केजी माथिको स्पर्धामा पाकिस्तानका वकार अलिलाई पराजित गरेपछि नेपाल साग इतिहासमा एक सय स्वर्ण जित्न सफल भयो। 

८७ केजीमाथिको तौल समूहको तेक्वान्दो फाइटमा स्वर्ण जितेका सक्षम कार्की।

सन् १९८४ मा काठमाडौंबाटै सुरु भएको दक्षिण एसियाली महासंघ (साफ) को नामबाट सुरु भएको यो प्रतियोगिताको १३ औं संस्करणमा आइपुग्दा नेपालले यो उपलब्धि हासिल गर्‍यो।

सन् २००४ मा पाकिस्तानको नवौं संस्करणबाट सागको पहिचान पाएको दक्षिण एसियाको ओलम्पिक मानिने सागको १३ औं संस्करणमा आएर नेपालले एक सय स्वर्ण छुन सफल भयो।  नेपालले ३५ वर्षअघि काठमाडौंको पहिलो सागमा म्याराथन धावक बैकुण्ठ मानन्धरको पहिलो स्वर्णबाट साफ खेलकुदमा स्वर्ण अध्याय सुरुवात गरेको थियो।

सन् १९९९ मा काठमाडौंमा भएको सागको आठौं संस्करणमा नेपालको नाममा सर्वाधिक स्वर्णको कीर्तिमान छ। नेपालले त्यतिबेला ३१ स्वर्ण जितेको थियो। त्यसयताका चार संस्करणमा नेपालले २५ स्वर्ण जितेको छ।

जारी सागमा नेपालले मंगलबारसम्म २३ स्वर्ण जितिसकेको थियो र १ सय स्वर्णको आँकडालाई छुन ६ स्वर्ण बाँकी थियो। बुधबार कराँतेमा अनुपमा महर्जन, उसुमा दीपक हमाल, तेक्वान्दोमा संगिता बस्याल र सक्षम तथा साइक्लिङमा राजेश मगर र निष्मा श्रेष्ठले सफलता हात पारेपछि नेपालको साग इतिहासमा स्वर्ण संख्या १ सय पूरा भयो।
 

प्रकाशित मिति: २१:४५ बजे, बुधबार, मंसिर १८, २०७६