बाग्लुङ जीप दुर्घटनाः बेपत्ता धनबहादुरको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
बाग्लुङ, मंसिर १८ : बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दुर्घटनामा परी ....

बाग्लुङ, मंसिर १८ : बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दुर्घटनामा परी बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको शव भेटिएपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो।
गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोलामा खसेको थियो। कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्षीय २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका चार वर्षीय छोरा हिमाल कार्की र सोही ठाउँ बस्ने २४ वर्षीया निमा केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
घाइते तिनै जनालाई ढोरपाटनस्थित बूर्तिवाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको कूलपूजाका लागि जाँदै थिए।











