Kathmandu Press

६० वर्षीया तारा सदाको मुहारमा नागरिकताले फर्काएको खुसी

‘तारा सदा नेपाली नागरिक हुनुहुन्छ। उहाँका बुवाआमा पनि नेपाली नै हुनुहुन्छ। तर कागजपत्र नभएकै कारण नागरिकता पाउनुभएको रहेनछ। समयमा नागरिकता बनेको भए उहाँलाई सरकारी सेवासुविधा मिल्थ्यो। अब त्यस्तो नहोस् भनेर प्रमाण जुटाई नागरिकता बनाइदिएका हौं।’
६० वर्षीया तारा सदाको मुहारमा नागरिकताले फर्काएको खुसी

काठमाडौं, भदौ २६ : सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ की ६० वर्षीया तारा सदा मुसहरले लामो समयको दौडधुपपछि यही भदौ ५ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाइन्। अहिले उनको खास उमेर ६० वर्ष भए पनि नागरिकतामा उल्लेख भएको जन्ममितिअनुसार भने उनी भर्खर ३९ वर्ष पुगेकी छन्।

नागरिकतामा वास्तविक उमेरभन्दा २१ वर्ष कम भए पनि उनलाई त्यसप्रति कुनै गुनासो छैन। किनकि उनका लागि नागरिकता बन्नु नै ठुलो भएको छ। बरु अब एकल महिला भत्ता पाइने भयो भनेर उनी दंग छिन्। ‘नागरिकता पाउँदिनँ भन्ने डर थियो, पाएँ, त्यसैमा खुसी छु। नागरिकता भएको भए एकल महिलाको सुुविधा १५ वर्षअघि नै पाउथें,’ उनले भनिन्।

२०६२ सालमा नागरिकता बनाउने टोली गाउँमा आएको थियो। कागजात नपुगेको भन्दै टोलीले उनको नागरिकता बनाउन मानेन। ‘विवाह दर्ता नगरेको, उमेर बढी भएको भन्दै टोलीले नागरिकता बनाउनै मानेन,’ ताराले भनिन्, ‘बन्दैन भनेपछि केही बोलिनँ, चुपचाप लागेर घर फर्किएँ।’

Hardik ivf

तारालाई नागरिकता अत्यावश्यक कागजपत्र हो भन्नेसमेत थाहा थिएन। केही फरक पर्दैन भनेर चुप लागेर बसिकी थिइन् उनी। २०६४ सालमा पति राम साेगारथ माझी बिते। परिवार हाँक्ने जिम्मेवारी उनकाे काँधमा आयो। घर चलाउन गाह्राे हुँदा एकल महिलाका लागि सरकारले भत्ता दिन्छ भन्ने थाहा पाइन् तर नागरिकता नभएकै कारण उनले भत्ता पाउन सकिनन्। त्यसपछि मात्र उनले नागरिकता बनाउनेतिर चासो दिन थालिन्।

नागरिकता बनाउन सघाइदेलान् भनेर गाउँका जमिनदारहरूसँग सहयोग मागिन् तर सबैले वचन मात्रै दिए, काम गरिदिएनन्। ‘नागरिकता बनाइदिन आग्रह गर्दै थुप्रै जमिनदारकहाँ धाएँ, घरमा र खेतमा गएर काम गरिदिएँँ, बनाइदिन्न कसैले भनेनन् तर वचन पनि कसैले पूरा गरिदिएनन्।’ 

नागरिकता बनाउन के चाहिन्छ, कहाँ जानुपर्छ भन्नेसमेत थाहा नपाएकी तारालाई अरूको भर पर्नुहुन्न भन्ने त लाग्थ्यो तर कुनै उपाय निस्कँदैनथ्यो। ‘नागरिकता बने एकल भत्ता पाइन्थ्यो, घरखर्च टर्थ्याे’ भन्ने आशा पालेर उनी भेटिएका जोकोहीसँग नागरिकताका लागि सहयोगको याचना गर्दै हिँड्न थालिन्।

त्यही क्रममा भेटिएका थिए सोही गाउँका सामाजिक अभियन्ता पचुलाल माझी। तिनै पचुललालको सहयोगमा ताराको नागरिकता बन्यो। ‘उहाँ (पचुलाल) ले हरेक कार्यालयमा पुगेर कागजपत्र बनाउन सहयोग गर्नुभयो,’ तारा भन्छिन्, ‘उहाँसँग भेट नभएको भए मेरो नागरिकता बन्दैनथ्यो होला।’  आफ्नै तरिकाले पचुलाललाई धन्यवाद पनि दिइन्।

अभियन्ता पचुलालका अनुसार जन्मदर्तामा फोटो नभएकाले, विवाह दर्ता नबनेकाले र उमेर पनि धेरै देखिएकाले ताराले नागरिकता नपाएकी रहिछन्। ‘उहाँको जन्मघर पुगेर कागजपत्र बनाइयो, विवाह दर्ताका लागि पाँच जना साक्षी राखेर नाता प्रमाणित गराइयो,’ अभियन्ता पचुललाले भने, ‘नागरिकताका लागि विवाह दर्तादेखि लिएर अरू कागजात बनाउनुपर्ने कुरा थाहा पाएपछि झन्झट हुने भएर सहयाेगकाे वचन दिनेहरू तर्किनुभएकाे  रहेछ। अब त नागरिकता बन्याे, उहाँलाई कुनै चिन्ता छैन।’

अझै पनि सर्लाहीलगायत आसपास जिल्लाका अशिक्षित वर्ग खासगरी मुसहर समुदायका मानिसहरू आफैं अग्रसर भएर नागरिकता बनाउँदैनन्। नागरिकताका लागि उनीहरू अरूको आशा गरेर बस्ने गरेको पचुलाल बताउँछन्। ताराले भने ढिलै भए पनि चासो देखाएका कारण नागरिकता पाएको उनी सुनाउँछन्।

ताराको नागरिकता बनाउने सिलसिलामा करिब दुई साता दौडधुप गर्नुपरेको पचुलालले बताए। ‘उनी (तारा) सँग नागरिकता बनाउन आवश्यक कागपत्र थिएन। माइतीघरमा पनि कुनै कागपत्र फेला परेन,’ उनले भने, ‘पालिकामा गएर गाविस हुँदाखेरिकै दर्ता भएका कागजपत्र हेर्दा उनको नाम भेटियो तर फोटो थिएन।’ त्यसैका आधारमा नागरिकता बनाउने काम सम्पन्न भएको उनले बताए। 

तारा महोत्तरीको गौशाला नगरपालिका–७ (साबिकको फुलकाँहा गाविस) मा जन्मिएकी हुन्। गौशाला–७ का स्थायी बासिन्दा बुवा रोदी सदा मुसहर र आमा रेबियादेवी सदाकी सन्तान भएको प्रमाण भेटिएपछि नागरिकता बनाउन सकिएको त्यहाँका नगरप्रमुख डा. दीपेन्द्र महतोले बताए। 

‘सबैको सहयोगमा प्रमाण जुटाइएपछि पुनः जन्मदर्ताको कागज बनाएर नागरिकता पाउने व्यवस्था मिलायौं,’ उनले भने, ‘नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ र नागरिकता नबनेकै कारण सरकारले दिने सेवासुविधाबाट वञ्चित हुनुहुन्न भन्ने भावनाबाट अभिप्रेरित भएर हामी तारालाई सहयोग गर्न जुटेका हौं।’ महतोले सामूहिक छलफलबाट प्रमाण जुटाएर, साक्षी राखेर ताराले नागरिकता पाउने व्यवस्था मिलाइदिएको बताए।

अभियन्ता पचुलालले ताराको परिवार र जनप्रतिनिधिलाई जोड्ने काम गरेका हुन्। ‘धेरै उमेर भएकाले र जन्मदर्तामा फोटो नराखिने हुँदा २०२० सालमा जन्मिएकी ताराले पुनः २०४० सालको जन्मदर्ता बनाई नाता प्रमाणित गर्नुपरेकाले वास्तविक उमेर र नागरिकताको उमेर फरक पर्न गएको पचुललाले बताए।

एकल महिला भएर पनि नागरिकता नभएकै कारण सरकारबाट पाउने सेवासुविधाबाट वञ्चित तारालाई अब अलिकति भए पनि राहत मिल्ने विश्वास अभियन्ता पचुलालले व्यक्त गरे। आर्थिक समस्या पनि झेलिरहेकी ताराका दुई छोरा, चार छोरी छन् तर कसैले पढ्न पाएका छैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरीलाई पढाउन पनि नसकेको तारा बताउँछिन्।

उतिबेलै नागरिकता बनेको सरकारबाट आउने भत्ताबाट सन्तानलाई पढाउन सकिन्थ्यो कि भन्ने उनलाई लाग्छ। तार अहिले पनि अर्काको खेतीबारीको बनीबुतो गरेर गुजारा चलाइरहेकी छन्। उनका जेठा छोरा र जेठी छोरीले पनि घरको समस्या टार्न अलिअलि सहयोग गर्ने गरेको उनको भनाइ छ। ‘अब नागरिकता बन्यो, सरकारले दिने सुविधा पाउँछु भन्ने आशा छ,’ ताराले भनिन्, ‘अबचाहिँ घरखर्च टार्न अलिकति सजिलो हुने भयो।’  

नागरिकता पाएपछि मात्र आफूलाई नेपाली नागरिक भएको जस्तो महसुस भएको ताराले बताइन्। ‘हजार जनालाई नागरिकता बनाइदिन आग्रह गरें। नागरिकता बनाउने सघाइदेलान् भनेर कतिको घरखेतमा गएर काम गरिदिएँ,’ उनले भनिन्, ‘आज अभियन्ता, गाउँपालिका, नगरपालिकाको सहयोगमा कम उमेरकै भए पनि नागरिकता पाउँदा खुसी छु।’

१५ वर्षदेखि ६ सन्तान एक्लै हुर्काइरहेकी ताराको दुःख देखेर स्थानीयवासीको रोहवरमा नागरिकता बनाउन सहयोग गरिदिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए। ‘तारा नेपाली नागरिक हुनुहुन्छ। उहाँका बुवाआमा पनि नेपाली नै हुनुहुन्छ। तर पनि कागजपत्र नभएका कारण नागरिकताबाट वञ्चित हुनुहुन्थ्यो,’ उनले भने, ‘समयमा नागरिकता बनेको भए सरकारी सेवासुविधाबाट राहत मिल्थ्यो।’ 

तारा नेपाली नागरिक भएकाले नागरिकता पाउनु उनको अधिकार भएको अध्यक्ष महतोले बताए। त्यसकारण उनको उमेर घटबढको विषयमा भने आफूले कुनै चासो नराखेको उनको भनाइ छ। तर अनागरिकलाई नागरिकता दिएकाे नभएर वंशजका आधारमा ताराले नागिरकता पाएकाे उनकाे भनाइ छ। 

‘नागरिकता बनाउन ल्याएको जन्मदर्तामा जन्ममति २०४० साल नै थियो, हामीले त्यही आधारमा उहाँको नागरिकता बनाइदिएका हौं,’ उनले भने, ‘विवाह दर्ता नभएका कारण पाँचजना स्थानीय साक्षी राखेर नागरिकता बनाउन सिफारिस गरिदिएका हौं।’ उनको कागजपत्र अपुग भएकै कारण नागरिकता बनाउन ढिलाइ भएको अध्यक्ष महतोको भनाइ छ।  

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्