Kathmandu Press

म्याग्दीको धवलागिरिमा अस्पताल भवनको निर्माण कार्य अलपत्र

म्याग्दी, भदाै २५ : म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ। निर्माण सकिनुपर्ने समयमा एक चौथाइमात्र निर्माणको काम भएको...
म्याग्दीको धवलागिरिमा अस्पताल भवनको निर्माण कार्य अलपत्र

म्याग्दी, भदाै २५ : म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ। 

निर्माण सकिनुपर्ने समयमा एक चौथाइमात्र निर्माणको काम भएको छ। भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम आठ महिनायता अगाडि बढ्न सकेको छैन। 

भवन निर्माणका लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। 

अस्पतालका लागि १६ कोठे दुईतले भवन निर्माण गर्न लागिएको हो। ताकमका वडाध्यक्ष अशोक खत्रीले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए। 

'नागरिकको गुनासो र हामीलाई पनि असहज भएपछि निर्माण व्यवसायीलाई सम्पर्क गरेर तत्काल काम अगाडि बढाउन ताकेता गरेका छौं,' उनले भने, 'समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको छ।'

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो। निर्माण व्यवसायी दीपकुमार अडाइले सडकको समस्याले निर्माण सामग्री ढुवानी गर्न नसक्दा अस्पताल भवन निर्माण प्रभावित बनेको बताए। 

'दरवाङ–धारापानी सडक स्तरोन्नति गर्न बन्द गरिएपछि अस्पताल भवनका लागि रड, सिमेन्ट बालुवा, गिट्टीजस्ता निर्माण सामग्री ढुवानी गर्न नसकेर काम रोक्न बाध्य भएका हौँ,' उनले भने, 'सहज वातावरण भएमा आगामी जेठसम्ममा भवन निर्माण पूरा गर्ने योजनासहित काममा फर्कने तयारीमा छौँ।'

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिलर ठड्याइ भुइँ ढलान ‘डिपिसी’को काम गरेको छ। अस्पताल भवनको विसं २०७७ पुस २२ गते प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले शिलान्यास गरेका थिए।

हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको अस्पताल भवनको विसं २०८० जेठसम्म म्याद थपिएको धवलागिरि गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाका सबइञ्जीनियर लोकेन्द्रबहादुर रावलका अनुसार निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत रु ९२ लाख ५० हजार रकम भुक्तानी निकासा लगिसकेको छ।

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो।

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्