बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुद्वारा दुःख व्यक्त

न्युयोर्क, भदौ २४ : बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन्।
विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन्।
बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो।
महारानी एलिवेथ द्धितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको खवर सुनेर आफू स्तब्ध भएको उल्लेख गरेका छन्।
'विश्वव्यापी नेतृत्व गर्नु भएकी र सबैलाई प्रेरणाको स्राेत बन्दै आएकी महारानीको निधनले मलाई दुखि बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु,' उनले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ।
संयुक्त राष्ट्रसंघप्रति महारानी सधैँ असल साथीको रुपमा रहनु भएको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसङ्घले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी नेतृत्वको रुपमा स्मरण गर्नु भएको छ। उनले प्रकाशित गर्नुभएको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूती व्यक्त गरिएको छ। सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्धितीयलाई भेटेको स्मरण पनि उनले गरेकका छन्।
'उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन,' प्रधानमन्त्री मोदीले लेख्नुभएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ब्रिटिश सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।
चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै र आफ्नै नाममा सी चिनफिङले गहिरो समवेदना व्यक्त गर्नु भएको छ। महारानीको निधन ब्रिटिश जनताको लागि ठूलो क्षति भएको सीले बताउनु भएको विज्ञप्तिमा जनाइएको छ।
चिनियाँ राज्य सञ्चार माध्यमले जारी गरिएको विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्थाकी प्रमुख भएकाे र बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने अर्थात् उनको शासनकालको प्रशंसा गरिएकाे छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरुलाई दुखित बनाएको उल्लेख गरेका छन्।
उनीहरुले अमेरिकास्थित बेलायती दुतावासमा राखिएको शोक पुस्तिकामा आफै शोक वक्तव्य लेखेका थियो। केही मिनेट लगाए लेखिएको वक्तव्यमा उनीसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ। महारानी एलिजावेथ द्वितीयलाई एउटा असल, परिवक्व अविभावको रुपमा उनीहरुले उल्लेख गरेका छन्।
वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पतीले बेलायती राजदूतलाई आफूहरु बेलायतको दुःखमा साथसाथै रहेको बताउँदै सहानूभूति व्यक्त गरेका थिए। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उनीजस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गरेका छन्। बेलायतका महारानी भए पनि उनले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहेको पुटिनदवा रा जारी वक्तव्यमा लेखिएको छ।
उनको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्यक्त गरेका हुन्। उनले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रुपमा स्मरण गरिरहने उल्लेख गरेका छन्।
क्यानडाको इतिहासमा उनी एउटा मुख्य पात्रको रुपमा रहेकाले उनले क्यानडालाई गरेको सेवाप्रति सबै जनता ऋणी रहेको ट्रुडोको भनाइ छ।
अष्ट्रेलियाका राष्ट्रपति एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गरेका छन्।
फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतिकको रुपमा स्मरण गरेका छन्। 'बेलायती जनतालाई एकताको सुत्रमा बाँध्ने पात्रको रुपमा भूमिका खेलेकी महामारीको निधनले हामीलाई दुखी बनाएको छ,' उनले जारी गरेको वक्तव्यमा लेखिएको छ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गरेक छन्।
त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजल्याण्डका प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौ देशका राष्ट्र तथा सरकार प्रमुखहरुले उनको आत्माको चिर शान्तिको कामना गरेका छन्।












