Kathmandu Press

‘ऐना झ्यालको पुतली’ले किन पाएन शो ?

चलचित्र संघका महासचिव नरेन्द्र महर्जन शुक्रबारदेखि नै हल बन्द गर्ने तयारी भएका कारण ऐना झ्यालको पुतलीको शो अग्रिम बुकिङ नगरिएको बताउँछन् ।
‘ऐना झ्यालको पुतली’ले किन पाएन शो ?

काठमाडौं भदौ २३ : एक महिनाअघि प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ ले शुक्रबारका लागि शो नपाएपछि निर्माण पक्ष आक्रोशित बनेको छ। नेपाली हलहरुमा शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुँदै आएकामा भदौ २४ को रिलिज मिति तोकिएको ऐना झ्यालको पुतलीले शो नपाएपछि निर्माण पक्ष आक्रोशित बनेको हो ।
 
भोलि प्रदर्शन हुने चलचित्रबारे हलहरुमा बिहीबारदेखि नै शो खुला गरिन्छ, तर ‘ऐना झ्यालको पुतली’का लागि शुक्रबार चाबाहिलको एफक्युबमा मात्रै दुई शो पाएको चलचित्रका निर्देशक सुजित बिडारी बताउँछन् । चलचित्रले बिहिबार ३ बजेसम्म एफक्युबमा १२:१५ र सिटिसीमा साँझको ५:३० को मात्र शो पाएका हुन् ।

भोलि नै भारतीय चलचित्र ब्रम्हास्त्र र सिता रामम पनि प्रदर्शनमा आउँदै छ । फिल्मका निर्माण पक्षले भारतीय सिनेमा चलाउनका लागि नेपाली चलचित्रलाई शो नदिएको आरोप लगाएका छन् । हल सञ्चालकले सफ्टवेयरमा समस्या, पुरानै फिल्मले दर्शक पाइरहेकोलगायतका aहाना देखाउँदै फिल्मलाई प्रदर्शनमा नराखिएको बिडारीले बताए। ‘शो किन नदिएको भन्नेबारे सम्बन्धित निकायले आधिकारिक जानकारी दिएको छैन,’ उनले भने, ‘हामीले सम्बन्धित निकायसँग छलफल गरिरहँदा ब्रम्हास्त्रको र सिता राममको सेन्सर नभएका कारण शो रोकिरहेको बुझेका छौँ ।’

उनले चलचित्र विकास बोर्डसहितका सम्बन्धित निकायको कमजोरीका कारण चलचित्रले शो नपाएको बताए । यसबारेमा बुझ्नका लागि  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग बुझ्ने कोसिस गर्दा उनको फोन उठेन ।

Hardik ivf

‘ऐना झ्यालको पुतली’का कलानिर्देशक केदार श्रेष्ठ पनि भारतीय सिनेमा प्रदर्शन गर्न नेपाली चलचित्रलाई शो नदिएको बताउँछन् । ‘अधिकांश हलले शो तालिका सार्वजनिक गरेकै छैन, अब हाम्रो दर्शकले कति बजे हेर्न पाउने भन्ने हाम्रो प्रश्न हो,’ उनले भने, ‘तर, चित्तबुझ्दो उत्तर पाउन सकेका छैनौँ ।’ हल व्यवसायीको यस्तो भेदभावले चलचित्रकर्मीहरुमा निराशा र आक्रोश छाएको उनले बताए।

‘देशभरका हललाई शोका लागि आग्रह गरिरहेको छु’

‘ऐना झ्यालको पुतली’ र ब्रम्हास्त्रको फिल्म वितरण गरिरहेका प्रचण्डमान श्रेष्ठले बुधबार नै देशभरका हलमा फिल्म प्रदर्शन गर्न कोड वितरण गरिसकेको बताए । ‘एउटा हलमा एउटामात्र भएपनि शो उपलब्ध गराइदिन आग्रह गरिरहेको छु,’ उनले भने, ‘ फिल्म चलाउने नचलाउने, कुन चलाउने कुन नचलाउने भन्ने सिनेमा हलमा भर पर्छ ।’

हल व्यवसायीले आफ्नो फाइदा हेरेर फिल्म प्रदर्शनमा राख्छन् । कोड प्राप्त भएपछि हरेक हलले फिल्म चलाउनैपर्छ भन्ने नीति छैन । त्यसैले हल व्यवसायीले दशर्कको मापन गरेर शो राख्ने गरेको उनले जानकारी दिए । ‘मैले ब्राहास्त्रलाई शो देउ, ‘ऐना झ्यालको पुतली’ शो नदेउ भनेर भनेको छैन,’ श्रेष्ठले भने, ‘शो नपाउनुमा मेरो कुनै दोष छैन ।’

उनले शो नपाउनुमा वितरक नभइ हलसञ्चालक जिम्मेवारी रहेको बताए । ‘पछिल्ला रिलिज भएका फिल्मले दर्शक पाइरहनु, हिन्दी फिल्मको दर्शक धेरै हुनु, अथवा विविध कारणले शो नपाएका हुनसक्छ,’ श्रेष्ठले भने।

हल बन्द गर्ने तयारीमा थियौँः महर्जन

पछिल्ला दिनमा शो नपाएको भन्दै नेपाल चलचित्र संघमा आरोप आइरहेको छ । चर्को विरोध र व्यवसायी गर्न नसक्ने अवस्था आएको भन्दै संघले सोमबार हल बन्द गर्ने निर्णय गरिसकेको छ । आफूहरुको माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाउने संघको तयारी छ । संघका महासचिव नरेन्द्र महर्जन शुक्रबारदेखि नै हल बन्द गर्ने तयारी भएका कारण चलचित्र ऐना झ्यालको पुतलीको शो अग्रिम बुकिङ नगरिएको बताउँछन् । ‘हिन्दी फिल्मलाई शो दिएर नेपाली फिल्मलाई नदिएको भने होइन,’ उनले भने ।

चलचित्रले विभिन्न कारण शो नपाएपनि दोष भने आफूहरुमाथि खनिने गरेको महासचिव महर्जनको गुनासो छ । ‘हरेक हप्ता तीन चारवटा फिल्म रिलिज हुन्छ, सबैलाई शो दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘दिन नसकेको अवस्थामा मात्रै होइन दर्शक नआउँदा पनि हामीले नै गाली खानुपर्छ ।’

शो राखेका छौं तर बुकिङ भएको छैन : शाक्य

सिडिसी हलसञ्चालक जीवन शाक्यले शुक्रबार साँझ ५ः३० मा दुई नेपाली फिल्म (‘ऐना झ्यालको पुतली’ र गोर्खा) प्रदर्शनमा राखिएको भएपनि अग्रिम टिकट बुकिङ नभएको बताए । ‘पछिल्लो हप्ता चलिरहेको झिँगेदाऊ, प्रकाश, सम्हालिन्छ कहिले मन, ले दर्शक पाइरहेको छन्,’ उनले भने, ‘कबड्डी ४ पछि नेपाली फिल्मले राम्रो व्यापार गर्न सकेको छैन, त्यसैले नेपाली फिल्मको शो नराखिएको हुनसक्छ ।’

शो राख्ने नराख्ने भनेर हल व्यवसायी दर्शकमा निर्भर हुने उनले जानकारी दिए । ‘दर्शक आए पो शो राख्नु? दर्शक नै नभए शो राखेर व्यवसायीले घाटा बेहोनुपर्छ,’ उनले भने ।  

 

प्रकाशित मिति: २०:३१ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्