Kathmandu Press

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

दार्चुला, भदौ २३ : भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन्। डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्। 

जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो। साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ।

Hardik ivf

डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताए। ‘अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ,’ उनले भने, ‘अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।’

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गुु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ। बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउँछन्। 

कैदीको उपचारमा समस्या

जिल्ला कारागारका कैदीबन्दीमा डेङ्गु भेटिएको छ । ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेङ्गु भेटिएको हो । अहिलेसम्म कारागारका सात जनामा डेङ्गु भेटिएको जिल्ला अस्पतालले जनाएको छ।

कारागारमा डेङ्गुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताए। जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ । कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उनले बताए। अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन् । उनले भने, ‘कारागारभित्र डुेङ्गु नियन्त्रणका लागि प्रयास भइरहेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्