Kathmandu Press

बाटोमै जन्मियो मृत शिशु, आमा सकुशल

बागलुङ, भदौ २३: निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानै सुत्केरी व्यथाले च्याप्यो।नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले निसीखोलाका स्वास्थ्यकर्मीलाई खबर...
बाटोमै जन्मियो मृत शिशु, आमा सकुशल

बागलुङ, भदौ २३: निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानै सुत्केरी व्यथाले च्याप्यो।

नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले निसीखोलाका स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ। 

Hardik ivf

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे। खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन्। त्यहाँ स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजान भनिन्।

भौगोलिक विकटताका कारण यातायात सेवाको पहुँच छैन। नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किन्। 

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माइन्। गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् र विकको सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन्। 

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन्। ‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेको छ’, उनले भनिन्, ‘धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो।’ विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाएको बुढामगरले बताइन्। अहिले ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा राखेर विकको उपचार भइरहेको छ। 

ढोरपाटन नगरपालिकाले दुर्गम मानिने ठाउँमा स्वास्थ्य संस्था धेरै स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने स्वास्थ्य संयोजक केशव थापाले बताए। थापाले मृत्यु भएको बच्चा जन्माएकी विकले एक पटक पनि गर्भ परीक्षण गराएको रेकर्ड नभएको जानकारी दिए।

‘अहिले पनि राम्रा समाजमा रुढिवादी परम्परा कामय छ, दुर्गम गाउँमा धेरै मानिस अशिक्षित छन्, हामीले दुर्गममा स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ, तर धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्’, उनले भने। थापाले अहिले पनि ग्रामीण क्षेत्रमा अशिक्षितका कारण स्वास्थ्य तथा गर्भ परीक्षण गराउने बानी नभएको बताए। (रासस)

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्