Kathmandu Press

बनेपामा असोज पहिलो साताबाट काभ्रे महोत्सव

काभ्रे, भदौ २३ : व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने नाराका साथ आगामी असोज ३ देखि १५ गतेसम्म बनेपामा काभ्रे महोत्सव...
बनेपामा असोज पहिलो साताबाट काभ्रे महोत्सव

काभ्रे, भदौ २३ : व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने नाराका साथ आगामी असोज ३ देखि १५ गतेसम्म बनेपामा काभ्रे महोत्सव हुने भएको छ।

काभ्रे उद्योग वाणिज्य संघले बनेपा नगरपालिका ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव आयोजना गर्न लागेको हो। कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए।

Hardik ivf

महोत्सवमा एक सय १५ वटा स्टल रहनेछन्। साधारण स्टललाई १७ हजार पाँच सय, अटोमोबाइललाई ३० हजार, होटल रेष्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार रुपैयाँ स्टल शुल्क तोकिएको छ। करीब ५० हजार जनाले महोत्सव अवलोकन गर्ने वाणिज्य संघको अनुमान छ।

महोत्वस स्थलमा प्रवेश गर्नको लागि एक सय रुपैयाँ टिकट शुल्क तोकिएको छ। विद्यार्थीका लागि ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघका अध्यक्ष राजेन्द्र पसंछेले बताए। महोत्वस अवधिभर एक करोड बराबरको कारोबार हुने संघको अनुमान छ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पसंक्षेले महोत्सवमा काभ्रेपलाञ्चोकको परम्परागत कला संस्कृति, औधोगिक ब्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमत्ति काभ्रे महोत्सव आयोजना गर्न लागिएको बताए। बडादशैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको महोत्सवमा काभ्रे लगायत उपत्यका, छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा र रामेछापबाट पनि सहभागिता रहने अपेक्षा गरिएको छ।

संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले महोत्सवमा समेट्न नसकिएका केहि विषयहरु आगामी दिनमा समेटिने बताएका छन्। १३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी महोत्सव गर्न सहभागिहरुले आयोजकलाई अनुरोध गरेका थिए।

महोत्सवमा मनोज गजुरेल, प्रमोद खरेल, ज्योति मगर, रोज मोक्तान, बद्रि पंगेनी, पशुपति शर्मा, रचना रिमाल लगायतका चर्चित कलाकारको प्रस्तुति रहने जनाइएको छ।

प्रकाशित मिति: ०६:५२ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्