Kathmandu Press

असोज १ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडाैं, भदाै २२ : सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक...
असोज १ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडाैं, भदाै २२ : सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

Hardik ivf

यस्तै बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँगको सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको छ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने र आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय भएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णयसमेत भएको छ।

यसैगरी यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय भएको महासचिव गौतमले बताए। बैठकमा महानिर्देशक पाण्डेसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, विभागका निर्देशक राधाकृष्ण खतिवडा र ईश्वरीदत्त पनेरु, यातायात व्यवसायी महासङ्घका अध्यक्ष स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायत पदाधिकारीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्