इज्जतभन्दा धनलाई महत्व दिँदा भ्रष्टाचार बढ्यो : मुख्यमन्त्री पोखरेल
बुटवल, मंसिर १७ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले समाजमा इज्जतभन्दा धनलाई महत्व दिने प्रचलन बढेकाले भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको ....

बुटवल, मंसिर १७ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले समाजमा इज्जतभन्दा धनलाई महत्व दिने प्रचलन बढेकाले भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले भने,“नियोजित ढङ्गले पनि भ्रष्टाचारको उजुरी पर्ने गरेका छन्। उजुरीको सङ्ख्या बढ्दैमा समस्या होइन, यसलाई नै आधार बनाएर चर्चा गर्न हुँदैन। उजुरी र फछ्र्यौटसँगै कति कारवाहीमा परे त्यो मुख्य कुरा हो।”
मुख्यमन्त्री पोखरेलले उजुरी पर्नु नै भ्रष्टाचार हो भन्ने भ्रम चिर्न त्यसलाई प्राथमिकीकरण गरेर अनुसन्धान गरिनुपर्ने बताए। “कामलाई असर पर्ने हिसाबले अनुसन्धान प्रक्रिया अगाडि बढ्नु हुँदैन । बीचमा काम रोकिँदा त्यो आयोजनाले धेरै क्षति बेहोर्नुपर्छ, यसतर्फ आयोगको ध्यान जानुपर्छ”, उनले भने।
अख्तियारको नेतृत्वप्रति विश्वास बढ्दै गएको बताउँदै मुख्यमन्त्री पोखरेलले सुशासन र भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका प्रभावकारी हुनुपर्ने बताए। कोही पनि विचलित हुने हिसाबले त्रास सिर्जना गर्न नहुने भन्दै उनले सम्बन्धित निकाय आफैं सुशासनका पक्षमा जिम्मेवार हुनुपर्ने बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारको कार्यसम्पादनप्रति जनता सन्तुष्ट नभएको टिप्पणी गरे। आयोगमा वर्षमा झण्डै २५ हजार उजुरी पर्ने गरेको जानकारी गराउँदै उनले पछिल्लो चार महिनामा १६८ मुद्दा अदालतमा गएको जानकारी दिए।











