Kathmandu Press

कीर्तिपुरको अवरुद्ध सडक सहमतिपछि खुल्यो

कीर्तिपुरको अवरुद्ध सडक सहमतिपछि खुल्यो

काठमाडौं, भदौ २२ : मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले  बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ। 

करिब दुई घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं ६ का अध्यक्ष पृथ्वीमान सिंह बस्नेत र सांसद राजन केसीका स्वकीय सचिव विनोद गुरुङ, स्थानीयवासी र सडक विभागका प्राविधिकबीच छलफल भई सडक खुलाउन सहमति भएको थियो । छलफलमा सडक मर्मत तत्काल सुरु गर्ने र दसैँसम्ममा सम्पन्न गर्ने सहमति भएको छ। 

Hardik ivf

सडक अवरोधले जोडिएका सडकहरूमा समेत सवारी जाम हुन थालेपछि कीर्तिपुर प्रहरी वृत्तको टोली आएर अवरोध खुलाएको थियो । त्यसक्रममा अवरोधमा संलग्न केहीलाई नियन्त्रणमा लिन खोजे पनि स्थानीयवासीको चर्को विरोधका कारण प्रहरी पछि हटेको थियो।

बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा र वीरगञ्जसम्म आवतजावत गर्ने मुख्य नाकाको रूपमा रहेको सो राजमार्ग अवरुद्ध हुँदा त्यहाँ चल्ने स्थानीय र राजधानी भित्रिने तथा बाहिरिने सयौँ लामा रुटका सवारी साधन रोकिएका थिए । बल्खुदेखि दक्षिणकाली सडकखण्ड करिब १० किलोमिटर रहेको छ। उक्त सडकका विभिन्न स्थानमा खाल्डो, पिच उप्किएको र हिलोका कारण दुईपाङ्ग्रे सवारीसाधनलाई अत्यन्त अप्ठ्यारो हुँदै आएको वडाध्यक्ष बस्नेतले बताए।

करिब एक वर्षअघि कालोपत्रे भएको सो सडकमा अहिले खाल्डै खाल्डा हुँदा यात्रु र स्थानीयवासी दुवैले सास्ती खेप्नुपरेकाले सडक अवरुद्ध गरिएको स्थानीयवासी उत्तम नेपालले जानकारी दिए। अर्का स्थानीयवासी महेश मगरका अनुसार झण्डै सात महिनादेखि स्थानीयवासीले तत्काल कालोपत्र गरी बाटो मर्मत गर्न आवाज उठाउँदै आएका थिए । करिब दुई महिनाअघि आफूहरुले सडक विभागमै पुगी त्यहाँका अधिकारीहरुलाई सडकको दुरावस्थाबारे बताएको उनले बताए। 

‘त्यतिबेला पनि उहाँहरुले अबको डेढ महिनाभित्र पिच सुरु हुन्छ भन्नुभएको थियो । तर हरेक १५ दिनमा यसबारे सम्झाउँदा विभिन्न कारण दखाउँदै टारिरहनुभयो,’ उनले भने। 

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्