साझा र विवेकशीलसहित १९ उम्मेदवारको जमानत जफत
पोखरा, मंसिर १६ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा सझा र विवेकशील पार्टीका सहित १९ उम्मेदवारको जमानत जफत भएको छ।
<....
पोखरा, मंसिर १६ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा सझा र विवेकशील पार्टीका सहित १९ उम्मेदवारको जमानत जफत भएको छ।
यस क्षेत्रमा २१ जनाले उम्मेदवारी दिएका थिए। नेकपाकी विद्या भट्टराई निर्वाचित भएकी छन्। निटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खेमराज पौडेले अघिल्लो निर्वाचनमा भन्दा मतान्तर कम पारेका छन्।
अन्य उम्मेदवारको भने जमानत नै जफत भएको हो। जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ।
कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदातामध्ये ४५ हजार पाँच सय ४६ ले मतदान गरेका थिए। जमानत जोगाउनका लागि कम्तीमा चार हजार पाँच सय ५६ मत चाहिएको थियो।
चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको संख्या ६ रहेको छ। स्वतन्त्र उम्मेदवार दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाएका छन्।
राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ। कास्की–२ मा मतको आधारमा तेस्रो स्थानमा रहेका सामाजवादीका धर्मराज गुरुङले एक हजार नौ सय २२ मत मात्र पाए।
त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एक सय ५३, साझा पार्टीकी रजनी केसीले नौ सय ४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा (माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले एक सय ३८, काँग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाएका छन्।
स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रिएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाएका छन्।






