कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित
पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई विजयी भएकी छिन्।
....
पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई विजयी भएकी छिन्।
आइतबार साँझ सकिएको मतगणना अनुसार नेकपाकी भट्टराई कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ९ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपाकी भट्टराईले २४ हजार ३९५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पौडेलले १५ हजार ९८६ मत पाए।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई स्वर्गीय नेकपाका नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुन्।
पर्यटनमन्त्री रहेका बेला ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन गराइएको हो।
शनिबार भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५६३ मत खसेको थियो।
यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गीय अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए।






