महाभियोग सिफारिस समितिले जबराको बयान भोलि पनि लिने
समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारे पनि आज चारवटा प्रश्नको मात्र जवाफ लिन भ्याइएको समितिका सदस्यसमेत रहेका नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले बताए।
काठमाडौं, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान भोलि (बिहीबार) पनि हुने भएको छ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज (बुधबार) उनको बयान लिए पनि अझै नसकिएकाले भोलि पनि लिन लागेको समितिका सदस्य नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले बताए।
समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारे पनि आज चारवटा प्रश्नको मात्र जवाफ लिन भ्याइएको उनले बताए।
माओवादी सांसद रेखा शर्माले बयान केही दिन लम्बिन सक्ने बताइन। एमाले सांसद कृष्णभक्त पोखरेलले बयानपछि समितिले सत्यतथ्य निष्कर्ष निकाल्ने बताए।
बुधबार बयान दिने क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेकाले स्वतः निष्क्रिय भएको बताएका हुन्। प्रतिनिधिसभाको एउटा अधिवेशनमा महाभियोग प्रस्ताव दर्ता भएको र साहीे अधिवेशनले त्यस्लाई टुंगो नलगाएकाले प्रस्ताव अवैध बन्न पुगेको जबराको दाबी थियो।
जबराले आफूमाथिको महाभियोग प्रस्तावलाई प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग जोडेर कारबाही भए इजलासका सबैलाई हुनुपर्ने बताएक थिए। आफूलाई मात्र महाभियोग लगाइनु गलत रहेको उनको जिकिर थियो।
जबराले आरोपका लागि आरोप लगाउने कुरा इतिहासमा गलत साबित हुने भन्दै अध्ययन गरेर कानुनी रुपमा लड्न सक्नेगरी प्रमाण दिनुपर्ने पनि बताएका थिए।
न्यायकि नेतृत्वमाथि चारतिरबाट प्रश्न उठ्ने वातावरण बन्नुको कारण सोध्दा जबराले आफूले जे गरे पनि नियम, कानुन र संविधानको परिधिभित्र रहेर गरेको दाबी पनि गरेका थिए।
जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायत आरोप लगाइएको छ।
सत्तारूढ दलले २१ आरोपसहित गत फागुन १ गते महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि जबरा निलम्बनमा परेका थिए।











