इटहरीमा ट्राफिक व्यवस्थापन गरिँदै

सुनसरी, भदाै १४ : सुनसरीको इटहरीको मुख्य चोक आसपासको क्षेत्रलाई सवारी जाम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापनको काम सुरु गरिएको छ।
बजार क्षेत्रमा अव्यवस्थितरूपमा सवारीसाधन पार्किङका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको भन्दै इटहरी उपमहानगरपालिकाले चोकको तीन सय मिटरको सडक क्षेत्रमा पार्किङ नगर्न आग्रह गरेको हो।
नगर क्षेत्रका मुख्य सडकबाट बजारका सडकमा अव्यवस्थित सवारीसाधन पार्किङ गर्ने प्रचलनका कारण नगरक्षेत्र नै कुरुप देखिन थालेको थियो।
सो कुरालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ट्राफिक व्यवस्थापन गर्न भन्दै तीन सय मिटरको सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।
सम्बन्धित वडाका वडाध्यक्ष, नागरिक समाज, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत यातायात व्यवसायीसँगको छलफलपछि इटहरीको मुख्य चोक क्षेत्रमा पार्किङ निषेध गरिएको छ।
६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालवाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकललगायतका सवारीसाधन पार्किङ हुँदै आएको छ।
आज बिहानदेखि लागू हुने उपमहानगरपालिकाले सडक क्षेत्रमा निर्माण सामग्री तथा व्यवसायिक सामान राख्न बन्देज गरेको हो।
सात दिनको समयसीमा निर्धारण गरी सूचना प्रसारण गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो। ट्राफिक व्यवस्थापनको चुनौती र समाधानसहित अध्ययन गर्न वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिले तयार पारेको प्रतिवेदनका आधारमा उपमहानगरपालिकाले थप कदम अगाडि बढाउने भएको हो।












