Kathmandu Press

पशुपति परिसरमा तीजकाे राैनक

तीजको अवसरमा पशुपति मन्दरि परिसरमा ठाउँठाउँमा महिलाहरु जम्मा भएर गाउँदै नृत्य गरेको दृश्यले त्यहाँको माहोल सांगीतिक बनेको छ। नृत्य गर्दै टिकटक बनाउँदै गरेका महिलाहरू पनि प्रशस्तै देखिन्थे।
पशुपति परिसरमा तीजकाे राैनक

काठमाडाैं, भदाै १४ : आज भाद्र शुक्ल तृतीया अर्थात् नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज। यस दिनमा भगवान् शिवको विशेष पूजाआराधना हुने भएकाले शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ।  

अघिल्लो दिन दर खाई तीजका दिन निराहार व्रत बसेर शिवको पूजा, उपासना गरे पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ। 

यस दिनमा विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले सुयोग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने गर्छन्। व्रत वस्नेहरु महादेृवका मन्दिरमा भेला भएर नाचगानमा रमाउने सुदीर्घ परम्परा रहेको पाइन्छ।

Hardik ivf

तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) दर्शनार्थीको भिड लागेको छ। खासगरी रातो, हरियो र पहेंलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा ठुलो घुइँचो देख्न सकिन्छ।

तीजको अवसरमा पशुपति मन्दरि परिसरमा ठाउँठाउँमा महिलाहरु जम्मा भएर गाउँदै नृत्य गरेको दृश्यले त्यहाँको माहोल सांगीतिक बनेको छ। नृत्य गर्दै टिकटक बनाउँदै गरेका महिलाहरू पनि प्रशस्ते देखिन्थे।

पशुपतिनाथ मन्दिरको बाहिरी मूलढोका २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको छ। पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन।

लामो समयपछि पूर्वी ढोका खोल्दा कोटेश्वर–तीनकुने क्षेत्रबाट सिनामंगल–त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै जाने भक्तजनलाई सहज भएको छ। यसले गर्दा माथिल्लो मार्गबाट प्रवेश गर्ने भक्तजनको चापमा कमी आएको छ।

यस वर्ष कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चारवटा लामको व्यवस्था गरिएको छ। दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ।तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश गराइएको छ।

धेरै ठाउँबाट व्यवस्थित रूपमा दर्शनार्थी प्रवेश गराइएकाले चक्रपथको सवारी बन्द गरिएको छैन। पशुपति क्षेत्रमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको छ।

बाहिरी भागमा पुरुष सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्