कास्कीमा पहिरोमा पुरिँएर पाँच जनाको मृत्यु
पोखरा, मंसिर १५ : पोखरामा सडक निर्माण गर्दा आएको सुख्खा पहिरोमा पुरिँएर पाँच जनाको मृत्यु भएको छ।
आइतबार बिहान पोखरा महानगरपालिका–२० म....

पोखरा, मंसिर १५ : पोखरामा सडक निर्माण गर्दा आएको सुख्खा पहिरोमा पुरिँएर पाँच जनाको मृत्यु भएको छ।
आइतबार बिहान पोखरा महानगरपालिका–२० मौजास्थित बिसौनामा सडक स्तरोन्नति गर्ने क्रममा सुख्खा पहिरो आएको थियो। माथिबाट आएको सुख्खा पहिरोले कामदारलाई पुरेको थियो।
उनीहरू सबैको पुरिएर मृत्यु भएको पोखरा–४ का वडाध्यक्ष सीम गुरुङले बताए। ‘पाँच जनाको शव निकालेका छौं, कसैलाई बचाउन सकिएनँ,’ गुरुङले भने।
उनी सबै सल्यानको बागचौर नगरपालिका–४ पेदीखोलाका वासिन्दा रहेका छन्। मृत्यु हुनेमा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
उनीहरु केही महिना अघिदेखि पोखरा आएर मजदुरी गरिरहेका थिए। उनीहरुको परिवारलाई खबर गरेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाको आठ करोड २५ लाखमा सडकको स्तरोन्नति भइरहेको छ।
मृत्यु भएका सबै कामदारको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











