Kathmandu Press

आमआफी दिने गरी कानून बन्दैन : प्रचण्ड

काठमाडौं, मंसिर १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबना....

आमआफी दिने गरी कानून बन्दैन : प्रचण्ड

काठमाडौं, मंसिर १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने बताएका छन्।

आइतबार नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा शहीद  बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने प्रतिवद्धता जनाए।

‘द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ,’ प्रचण्डले भने।

उनले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारबाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भने, ‘यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ।’

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो। ‘इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारबाही भोग्न तयार छु,’ प्रचण्डले भने।

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उनले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए।

अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे। ‘स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँले भोग्नुभएको छ, त्यो मैले महसुस गरेको छु, सांसद पाख्रिनप्रति मेरो सम्मान छ,’ उनले भने, ‘म तपाईलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो जघन्य अपराधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन।’

सांसद पाख्रिनले जनयुद्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले बर्बरतापूर्वक हत्या गर्नेलाई माफी दिन नहुने स्मरण गराइन्। (रासस)

प्रकाशित मिति: १४:१० बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्