भकुण्डेवेशीमा जनप्रतिनिधिसँग अन्तर्क्रिया

काभ्रे, भदौ १३ : नेपाली कांग्रेस काभ्रे प्रदेश सभा क्षेत्र नं १ (क)ले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेको छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा कांग्रेसले तय गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितिले भकुण्डेवेशीमा अन्तर्क्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममाजिल्ला सभापति तीर्थ लामा, नेता शंखबुद्ध लामा, जिल्ला सदस्य सुनिता तामाङ, महाधिवेशन प्रतिनिधी शान्ति लामा, प्रदेश सभा क्षेत्रीय सभापति राम योञ्जनलगायतले संघ र प्रदेशको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन स्थानीय तहका जनप्रतिनिधिको पनि भुमिका हुने भन्दै सोही अनुसार भूमिका खेल्न पनि अनुरोध गरेका थिए। उनीहरू जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न पनि जनप्रतिनिधिलाई अनुरोध गरे।
घोषणापत्र अनुसार नै काम भइरहेको जवाफ जनप्रनिधिहरुले दिएका थिए। नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले धेरै महत्वपूर्ण कामको सुुरुआत गरेको भन्दै छोटो समयमा आलोचना गर्नु हतार हुने बताए।
यस्तै, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले ६० वर्ष भन्दा माथिका नागरिकको स्वास्थ्य विमा लगायतका महत्वपूर्ण निर्णय भएको भन्दै सिमित श्रोत र साधनले असिमित चाहना पुरा गर्नुपर्ने बाध्यता रहेको सुनाए। तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले विकासका योजना लिएर आउन अनुरोध गर्दै विकासमा निराश नपार्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले कार्यपालिका बहुमत नहुँदा स्थानीय तहमा काम गर्न केही कठिनाइ भएसको तर्क गरे । उनले अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचन परिणामको आधारमा काभ्रे क्षेत्र नं १ को हक गठबन्धनले विवेक प्रयोग गर्नुपर्ने बताए ।












