सागको दशरथ रंगशालामा आज भव्य उद्घाटन
काठमाडौं, मंसिर १५ : काठमाडौं, पोखरा र जनकुपरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज दशरथ रंगशालामा भव्य उद्घाटन हुँदै छ। आज साँझ ५ ....
काठमाडौं, मंसिर १५ : काठमाडौं, पोखरा र जनकुपरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज दशरथ रंगशालामा भव्य उद्घाटन हुँदै छ। आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
प्रतियोगितामा २८ खेल समावेश छन्। यसमा तीन सय २४ स्वर्णका लागि सात देशका तीन हजारभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता १० दिनसम्म चल्ने छ।
सन् २०१० मा बंगलादेशमा भएको सागमा २३ इभेन्ट रहेका थिए। इभेन्टका हिसाबले नेपालमा हुन लागेको यो प्रतियोगिता सर्वाधिक ठुलो हो।
यसअघि सन् २०१६ मा २२ इभेन्टमा प्रतिष्पर्धा भएको थियो। सन् २००६ मा श्रीलंकामा भएको सागमा सबैभन्दा बढी दुई सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
१३औं सागमा कुल २९ खेल समावेश गरिए पनि प्याराग्लाइडिङमा सहभागी राष्ट्र नपुगेपछि प्रतियोगिताबाट हटाइएको छ।
उदघाटन हेर्न सर्वसाधारणका लागि भने टिकटको ब्यबस्था गरिएको छैन्। उद्घाटन समारोहमा १५ हजारले आफ्नो प्रस्तुती दिने र विभिन्न देशका खेलाडी, अफिसियल, भिआईपी गरेरनै रंगशाला भरिने भएपछि सर्वसाधारणका लागि टिकटको ब्यबस्था नगरिएको हो। दशरथ रंगशालामा १८ हजार दर्शक क्षमता रहेको छ।
राष्ट्रिय खेलकुद परिषदले विभिन्न देशका खेलाडी, पाहुना र अतिथिलाईमात्रै रंगशाला प्रवेशको वातावरण बनाएको छ। त्यसैले मैदानमा पुगेर दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोह हेर्न चाहने दर्शकले यो मौका पाउने छैनन्।
नेपालको टिमले मार्चपासको समय भारोतोलनका कमलबहादुर अघिकारीलाई नेपालको झन्डा बोक्नेछन्। अधिकारीको यो अन्तिम साग यात्रा हो। उनले १०औं सागमा भारोतोलनमा कीर्तिमानी स्वर्ण जितेका थिए।
भारोतोलनमा नेपालले जितेको त्यो एकमात्र स्वर्ण हो। उनले जारी प्रतियोगिता आफ्नो करिअरको अन्तिम प्रतियोगिता हुने बताए।
प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका दुई हजारभन्दा बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ। सन् १९८४ मा नेपालबाट सुरू भएको साग झण्डै ४० वर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ।
नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो। यसबीच पनि पटकपटक सागको मिति सारिएको थियो।






