Kathmandu Press

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए

सिन्धुपाल्चाेक, भदाै १२ : सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन्। थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको...
सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए

सिन्धुपाल्चाेक, भदाै १२ : सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन्। थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनपश्चात नयाँ मतदाताहरूका लागि यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो। सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति  तोकेपछि २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो।

Hardik ivf

असार १ गतेदेखि साउन २० गतेसम्ममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए। थप भएकासहित आउँदो निर्वाचनका लागि सिन्धुपाल्चोकमा कूल मतदाताको सङ्ख्या दुई लाख ६१ हजार छ सय १७ पुगेको निर्वाचन अधिकारी रिजालले जानकारी दिए।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुई वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र चार वटा रहेको छ। त्यसमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ६७ हजार एक सय ७६ जना मतदाता रहेका छन्। क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा ६४ हजार दुई सय ५९ जना मतदाता रहेका छन्।

त्यस्तै  प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा ६३ हजार तीन सय ८० जना मतदाता रहेका छन्। प्रदेश सभा (ख) मा  ६६ हजार आठ सय दुई मतदाता रहेका छन्। आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरूले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिए।

मतदाता नामावली प्रति दावीविरोध भएमा त्यसको छानबिन गरिने उनको भनाइ छ। मतदाता नामावली अद्यावधिकपश्चात हाल कायम भएका मतादाता सङ्ख्यामा थपघट हुने उनले जानकारी दिए। सिन्धुपाल्चोकको १२ स्थानीय तहमा हाल एक सय ४४ मतदान स्थल र तीन सय १६ वटा मतदान केन्द्र रहेका छन्।

प्रकाशित मिति: २०:२३ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्