पाकिस्तानमा वर्षा र बाढी जारी, सतर्क रहन अधिकारीहरूको सूचना

इस्लामाबाद, भदाै १२ : पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले वर्षा र बाढीको अझै सम्भावना रहेको चेतावनी दिएका छन्।
अधिकारीहरुले यहाँ वर्षा भइरहेको भन्दै यहाँका नदीहरुमा पानीको मात्रा अझै बढ्न सक्ने भन्दै मानिसहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन पनि भनेका छन्।
विशेषगरी पाकिस्तानका उत्तरपश्चिमी प्रान्तहरुमा बर्षाको सम्भावना अझै रहेको र बर्षा पनि यहाँका नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहन पनि भनिएको छ।
त्यसैगरी कालाबाग, चासमा लगायतका क्षेत्रमा इन्डस नदीको बहाब बढ्ने र यसबाट मानिसहरुको बस्तीमा पनि बाढी पस्नसक्ने भन्दै उनीहरुले सूचना जारी गरेका छन्।
पाकिस्तानमा आएको बाढीका कारण शनिबार मात्र ४५ जनाको मृत्यु भएको छ। अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
यहाँ गएको दुई दिनदेखि जारी रहेको अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।
शनिबारसम्मको अवस्था हेर्दा वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ। सिन्ध प्रान्तमा मात्रै ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन्।
पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ। पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो।
यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन्। बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।












