Kathmandu Press

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

इस्लामावाद, भदौ  ११ : पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ।घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय...
पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

इस्लामावाद, भदौ  ११ : पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ।

घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन्। घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ।  

Hardik ivf

वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ। सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन्।पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ।

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो। यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन्। बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन्।

त्यसैगरी छ लाख ८२ हजार एक सय ३९ घर क्षतिग्रस्त भएका छन् भने १४९ पुल भत्किएका छन्। प्राधिकरणका अनुसार १२२ पसल तथा व्यवसायीका प्रतिष्ठानका भवनहरूमा पनि क्षति पुगेको छ।

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो।

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ।

पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरूले जनाएका छन्।

बाढी पहिरोका कारण हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ। उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन्।

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्