Kathmandu Press

अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

त्रिशुली, भदाै ११ : नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ। अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन...
अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

त्रिशुली, भदाै ११ : नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ। अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा रु आठ लाख लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो। 'प्रसूती कक्षबाट निस्कने प्लासेन्टा, शल्यक्रिया–ड्रेसिङ गर्दाको मानवजन्य अङ्ग, बिरामी र कुरुवाले खेर फालेका खाद्यान्नलगायत कुहिने फोहरलाई अस्पताल परिसरमा निर्माण गरिएको प्लाण्टमा विसर्जन गर्न थालिएको छ।'अस्पतालका प्रमुख डा पाण्डेले भने, 'प्लान्टबाट उत्पादन हुने इन्धनले चिकित्सकको आवासीय मेसमा १५ जनालाई आवश्यक इन्धन पर्याप्त बनेको छ।'

Hardik ivf

प्लान्ट सञ्चालनले अस्पतालजन्य कुहिने फोहरको बिसर्जनको समस्या समाधानसहित फोहरका कारण लाग्नसक्ने सरुवाजन्य रोग नियन्त्रण र इन्धन उत्पादनले अस्पतालको खर्च बचाएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले जानकारी दिए। उनका अनुसार अहिले परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको प्लान्टबाट करिब ४० जनासम्मलाई खाना, खाजाका लागि आवश्यक इन्धन उत्पादन भएकाले ऊर्जा उत्पादनको दायरा बढाएर अस्पतालको चमेनागृहलाई बिक्री गर्ने लक्ष्य छ।

'अस्पतालबाट उत्पादित फोहर विसर्जन गर्न यसअघि मासिक रु एक हजार पाँच सय शुल्क तिर्नुपर्ने थियो,' अस्पतालका अध्यक्ष पण्डितले भने, 'कुहिनेबाट ऊर्जा र नकुहिनेलाई समेत एक निजी कम्पनीलाई मासिक रु तीन हजारमा बिक्री गर्न हालै सम्झौता गरेका छौँ।'

त्रिशूली अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरणको प्रबन्ध र विशेषज्ञ सेवाको विस्तार गर्दै अस्पताल सञ्चालनका क्रममा देखिएका आन्तरिक समस्याको समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

सो क्रममा फोहर बिसर्जनका लागि प्लान्टको निर्माणसहित डिप बोरिङ निर्माण गरेर पानीको सुविधा सहज बनाइएको छ। ‘न्यूनतम सेवा मापदण्ड’मा त्रिशूली अस्पतालले देशभरका सरकारी अस्पतालमध्ये आर्थिक वर्ष २०७७/७८ मा ८३ अङ्क प्राप्त गरेको थियो भने गत आव २०७८/७९ मा ९४ अङ्कको साथ देशभरको उत्कृष्ट अस्पताल घोषित भएको थियो।

प्रकाशित मिति: २०:०९ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्