Kathmandu Press

रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा

जनकपुर, भदाै ११ : भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ। भारतीय...
रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा

जनकपुर, भदाै ११ : भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ। 

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए।

Hardik ivf

जयनगर–कुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि दोस्रोपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आज दिउँसो जनकपुरधाम आउने कार्यक्रम थियो। 

भारतको राजधानी नयाँदिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने सो रेलमा लक्ष्यानुसारको टिकट बिक्री नभएको लगायतका प्राविधिक कारण देखाउँदै सोबाट हुने भनिएको जनकपुरधामको धार्मिकयात्रा भारतीय रेल्वे कम्पनीले स्थगन गरेको महाप्रबन्धक झाले बताए। 'पहिलोपटक जस्तै दोस्रोपटक पनि भारत गौरव पर्यटक रेल ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई लिएर आउने खबरले हामी उत्साहित थियाैं', झाले भने, 'तर अचानक यात्रा स्थगन भएको खबर पाएपछि दुःख लागेको छ।' 

भारतीय पर्यटकको धार्मिकयात्राले जनकपुरधामको धार्मिक, सांस्कृति र आर्थिक विकासमा टेवा पुगिरहेकाले यस्तै प्रकारको धार्मिकयात्राका लागि निरन्तर पहल जारी राख्ने उनको भनाइ थियो। रामायण सर्किटमा सञ्चालन हुने उक्त ‘भारत गौरव पर्यटक रेल’ सेवामार्फत पहिलोपटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको थियो। सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ। 

सो रेलमा करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ। उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्को देख्न सकिने चित्रहरू राखिएको छ। 

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्टैच्यू अफ युनिटी, दिल्लीमा रहेको नेशनल वार मेमोरियलजस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएको बताइएको छ।

प्रकाशित मिति: १७:५० बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्