सवारी दुर्घटनामा परेका पत्रकार दाहाललाई एक लाखको चेक

विराटनगर, भदाै ११ : नेपाल प्रेस युनियन सुनसरी शाखाले सवारी दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई रु एक लाख आज हस्तान्तरण गरेको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र युनियनको शाखा सभापति पवन अधिकारीसहितको टोली आज निजकै निवासमा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।
अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा सङ्गठन आवश्यक पर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था र समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति भएकाे बताए।
बीमाले उलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूतिले पनि ठूलो हौसला मिल्ने चर्चा गर्दै उहाँले प्रेस युनियनको कामको प्रशंसा गरे।
अध्यक्ष पोखरेलले पत्रकारको समस्यामा राज्यको लगानी आवश्यक छ भन्दै पत्रकार आफँै पनि आर्थिकदेखि सामाजिकरूपमा परिपक्व बन्नुुपर्ने आवश्यकता औँल्याए।
प्रेस युनियन सुनसरी शाखाका सभापति अधिकारीले युनियनले पत्रकारहरूको हकहितलगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको स्मरण गर्दै बीमाकम्पनीसँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका दुई सय ७४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको जानकारी दिए।
उनले कोरोनाकालमा ३० सञ्चारकर्मीलाई कोरोना बीमावापत रु ३० लाख हस्तान्तरण गरिसकेको जानकारी दिँदै सवारी दुर्घटनामा परी घाइते भएका दाहालको उपचारमा सम्भव भएसम्म मद्दत गरेको बताए।












