विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आग्रह
काठमाडाैं, भदाै ११ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी...
काठमाडाैं, भदाै ११ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
'नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ। यसो गर्न सकियो भने हाम्रो देशमा समृद्धि छाउन धेरै समय लाग्दैन,' उनले बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली नागरिकहरू विदेश जाने विश्वविद्यालयमा अध्ययन गर्न, कुनै विशिष्टिकृत सीप सिक्न र पूँजी आर्जन गर्न नै हो भन्दै विदेशी भूमिमा आफूले गरेको आर्जन स्वदेशको विकासमा लगाउन सके नेपालको विकास धेरै टाढा नरहेको बताए।
सो सम्मेलनमा उनले भने, 'संसारमै छरिएर रहेका हामी नेपालीहरूको तीन उद्देश्य ज्ञान, सीप र पूँजी आर्जन गर्नु नै हो। देश विकासका लागि हामीलाई आवश्यक पर्ने चिज पनि यिनै हुन्। त्यसैले हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो मातृभूमिलाई बिर्सनु हुँदैन। आफ्नो विदेशको कमाई आफू जन्मेको माटोका लागि खर्चिनुपर्दछ।'
वरिष्ठ उपाध्यक्ष ढकालले सबै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र आफू रहेका स्थानका विदेशीहरूलाई पनि नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरे।
उनले भने, 'नेपालमा लगानीको वातावरण छ। हाम्रै देशको माटो मलिलो छ। आफ्नै देशको माटोमा सुन फलाउने अनगिन्ती अवसरहरू हामीसँगै छन्। प्रकृतिले पनि हामीलाई संसारकै धनी बनाइदिएको छ। त्यसैले हाम्रै देशमा लगानी गरौँ। अहिले जहाँ जेसुकै काममा रहेको भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ।'
श्रीलंकामा सुरु भएको आर्थिक सङ्कटका समयमा पनि संसारबाटै नेपालीहरूले चिन्ता व्यक्त गरेको आफूले महसुस गरेको स्मरण गर्दै ढकालले सबै नेपालीको चिन्ता आफ्नै मातृभूमिका लागि हो भन्ने कुरा स्पष्ट भएको बताए।
अहिले हामीले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उनको आग्रह थियो। उनले भने, 'सबै मिलेर नेपालमा लगानी भित्र्याउँ र हाम्रो आफ्नै मातृभूमिलाई समृद्ध बनाऔं।'
-1786430634.png)










