प्रधानमन्त्री ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने
काठमाडाैं, मंसिर १४ : एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको....

काठमाडाैं, मंसिर १४ : एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ।
प्रधानमन्त्री ओलीलाई kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्नसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो। प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो। यसअघिका कुनैपनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन।
प्रधानमन्त्री ओलीको मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। हाल उनको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालले विभिन्न समयमा विज्ञप्ति निकालेर जानकारी गराउँदै आएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो हुँदै गएको प्रेस सल्लाहकार थापाले बताए। रासस











