कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडाैं, भदाै ८ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन।
पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए।
जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिए। बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव सङ्कलन गरिएको थियो। बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए।












