Kathmandu Press

त्रिवि सुधार्न उपकुलपति बाँस्कोटाले अघि सारे १५ बुँदे योजना

काठमाडाैं, मंसिर १३ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्नका लागि १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्।....

त्रिवि सुधार्न उपकुलपति बाँस्कोटाले अघि सारे १५ बुँदे योजना
फाइल

काठमाडाैं, मंसिर १३ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्नका लागि १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्। त्रिवि साधारणसभामा उनले त्रिवि सुधार गर्नका लागि उक्त १५ बुँदे सुधार योजना ल्याउँदै त्रिविलाई प्राज्ञिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सुनाएका हुन्।

उक्त योजनामा त्रिविको भौतिक पूर्वाधारमा सुधार गर्नेदेखि लिएर त्रिविको सुशासनसम्मका विषयहरु रहेका छन्। उपकुलपति बाँस्कोटाले ल्याउनुभएको सुधार योजनामा त्रिवि परिसरलाई पर्खालले घेर्ने, सबै आङ्गिक क्याम्पसका राम्रा कक्षाकोठा, भवनमा जाने सडक पक्की, सुन्दर बगैँचा, व्यवस्थित पुस्तकालय तथा कक्षाकोठा मल्टिमिडिया प्रयोग गरिएको हुनुपर्ने रहेको छ।

त्रिविलाई अनुसन्धान विश्वविद्यालयका रुपमा विकास गर्नेसमेत उनको सुधारको योजना रहेको छ। यसका लागि त्रिविमा रहेका अनुसन्धान केन्द्रलाई उचित बजेट व्यवस्था गरी अनुसन्धानमा क्रियाशील बनाई त्रिविका अनुसन्धान केन्द्रहरुलाई सरकारको प्रबुद्ध समूह ‘थिन्कट्याँक’का रुपमा विकास गर्ने उनको लक्ष्य रहेको छ।

निश्चित शैक्षिक पात्रोको व्यवस्था र कडाइका साथ पालना गरी त्रिवि सुधार गर्ने अभियानमा उनी छन्। अहिले त्रिविको शैक्षिक पात्रो अव्यवस्थित छ। न समयमा परीक्षा सञ्चालन हुन्छ न परीक्षाफल समयमै प्रकाशित हुन्छ। शैक्षिक पात्रोलाई कार्यान्वयन गरी परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनका लागि व्यवस्था गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने उहाँको सुधार कार्यक्रममा समेटिएका छन्।

केन्द्रमा ३ हजार विद्यार्थी अट्ने मेघा हल बनाएर एउटै परीक्षा केन्द्र बनाउने योजना रहेको छ। सिसिटीभी जडान गरेर बनाइने मेघा हलमा बनेपछि उपत्यकामा रहेको क्याम्पसमा रहने परीक्षा केन्द्र हट्नेछन्। उपकुलपति बास्कोटाले बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे। “राष्ट्रका लागि कुन–कुन विधाका लागि कति वर्षमा कति कति उच्च दक्षतायुक्त जनशक्ति आवश्यक पर्दछ। सोही अनुसार दक्ष जनशक्ति उत्पादन गरेर राज्यलाई दिनेछौँ”, उनले भने, “सोका लागि मागअनुसार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।”

त्रिवि सुधार गर्ने अभियानमा उनले प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरी पेशाप्रति उत्प्रेरणा जगाउने कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए। प्राध्यापकलाई अनुसन्धानमा सरिक गराई विदेशी विश्वविद्यालयका प्राध्यापकसँग अनुभव आदानप्रदान कार्यक्रम र प्राध्यापकको व्यावसायिक उन्नयनका लागि कार्यक्रमसमेत गर्ने बताए। आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन गर्ने, नवीकरण नगर्ने कलेजको सम्बन्धन खारेज गर्ने र न्यून विद्यार्थी भएका विषयलाई मर्जर गर्नेसमेत नीति ल्याइने उहाँको सुधार योजनामा रहेको छ।

यसैगरी उनले राष्ट्रिय योजना आयोग र त्रिविबाट उत्पादित जनशक्ति खपत गर्न सङ्घसंस्थाको समन्वय तथा  सरकार र उपभोक्तासँग समन्वय गरी पाठ्यक्रम परिमार्जन गर्दै जाने योजना रहेको छ। उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, विद्यार्थीका लागि खेलकूदको व्यवस्था गर्ने, दश प्रतिशत छात्रवृत्ति कोटालाई कडाइका साथ लागू गर्ने, त्रिविको सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम् प्रयोग गर्ने उहाँको सुधारका योजनामा छन्।

त्रिवि एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयको हितमा विज्ञता अनुसारको सहयोग प्राप्त गर्नेसमेत उनको योजना छ।

सुशासनमा जोड

नवनियुक्त उपकुलपति बाँस्कोटाले त्रिविभित्रका विकृति विसङ्गतिलाई हटाउँदै सुशासन बनाउने प्रतिबद्धता व्यक्त गरे। त्रिवि सञ्चालनका क्रममा रहेका नीतिनिर्माण, निर्णय कार्यान्वयन, आर्थिक लगायतका सबै क्षेत्रको पारदर्शिता कायम गर्ने आफ्नो सुधार नीतिमा उल्लेख गरे। 

यस्तै शिक्षकको मूल्याङ्कन गर्न एक एकाइ स्थापना गर्ने, त्रिविमा लामो समयदेखि फछ्र्योट हुन नसकेका बेरुजुलाई फछ्र्योट गर्नका लागि विशेष कार्ययोजना बनाउने, त्रिविको अभिलेखीकरणलाई व्यवस्थित बनाउने, निवृत्त विद्वानहरुको सल्लाहकार समूह बनाउने तथा त्रिवि ऐन, नियम एवं विनियमको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानूनी रुपमा विश्वविद्यालयलाई सबल बनाउने कार्ययोजनामा रहेका छन्।

बजेट २३ अर्ब

सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतीले पेश गरेको आर्थिक वर्ष २०७६-७७ का लागि २३ अर्ब पाँच करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ।

त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पूँजीगत खर्च गरी कूल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ। जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ।

विश्वविद्यालय अनुदान आयोगबाट कूल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ। गत आर्थिक वर्ष २०७५-७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार रूपैयाँ अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा ६ अर्ब ६७ करोड ६५ लाख रूपैयाँ अनुदान प्राप्त भएको थियो।

त्रिविको आर्थिक वर्ष २०७४-७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो। त्रिविअन्तर्गत ६२ वटा आङ्गिक र १ हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। रासस

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, मंसिर १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्