Kathmandu Press

अक्षरामा ‘बनौं संस्कारी’ पाठ्यक्रम सुरु

काठमाडौं, भदौ ८ : अक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम सुरु गरेको छ। यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक गत शुक्रवार एक कार्यविच सार्वजनिक भएको...
अक्षरामा ‘बनौं संस्कारी’ पाठ्यक्रम सुरु

काठमाडौं, भदौ ८ : अक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम सुरु गरेको छ। यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक गत शुक्रवार एक कार्यविच सार्वजनिक भएको छ। वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तककका लेखक डा.राजु अधिकारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए।  

पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्संदै गएको बताए। संस्कार विर्सेकै कारण न्युनतम मानवीय मूल्य विर्सदै गएको भनाई कोइरालाको थियो। ‘अहिले विज्ञान छ। प्रविधि छ। भौतिक विकास पनि छ। यी सबै चाहिन्छ। तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ,’ डा.कोइरालाले भने, ‘मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मुल्य हुँदैन।’ पुस्तकमा एक सय एक गुण हुनु पर्नेमा जोड दिए  पनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर पाँच वटा मात्रै गुण धारण गरे पनि जीवन सफल हुने धारणा कोइरालाको थियो।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले नानीबाबु असल होउन भन्ने चाहना सबैको हुने तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने नगरेको भनाई राखे। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छाैं, तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं।’ असल समाज र असल व्यक्ति निर्माण शिक्षाबाट मात्र संभव हुने पनि उनले बताए। ‘संसार बदल्ने हो भने पहिला आफू बदलिनु पर्छ। आफू बदलिन संस्कार जान्नु पर्छ। संस्कार सहितको शिक्षा हुनु पर्छ,’ थपलियाको भनाई थियो। 

अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुलको स्थापना गरेको बताइन्। विद्यालयको मिसनसंग पुस्तक मेल खाने भनाई भट्टराईको थियो। स्कुलले उक्त पुस्तकलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकालेको जानकारी डाइरेक्टर प्रिन्सिपल भट्टराईले दिइन्।

पुस्तककका लेखक डा. राजु अधिकारीले शिक्षा भएर पनि संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए। जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनै पर्ने भनाई अधिकारीको थियो। सन्तानको कुशलताको लागि आफुले पुस्तक लेखेको पनि उनले बताए। 

उक्त पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमुल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौं संस्कारी जस्ता विषय समेटिएका छन्। स्कुलले संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी गरिरहेको समेत जनाइएको छ। 
 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्