Kathmandu Press

पुस्तक प्रदर्शनीमा पाठकको भिड

काठमाडाैं, भदाै ८ : युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्त रुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति...
पुस्तक प्रदर्शनीमा पाठकको भिड
Hardik ivf

काठमाडाैं, भदाै ८ : युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्त रुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न थालेको छ।

प्रज्ञाको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ साउनसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको जनाएको छ। धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ।

विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग सात, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड एक, दुई, तीन, चार, पाँच र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन्।

प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ। प्रदर्शनी यही भदौ १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अतिउपयोगी झण्डै पाँच सयभन्दा बढी थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ। यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका तीन सयभन्दा बढी थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ।

‘लोकवार्ता विवेचना’, ‘तुफुका कविता’, ‘बोटे भाषाको व्याकरण’, ‘मातृभाषा साहित्यको इतिहास’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचीन कथा’, ‘अमरकोश’, ‘प्रज्ञा भोजपुरी नेपाली शब्दकोष’, ‘पाकिस्तानी महिला लेखन’ जस्ता ४० भन्दा बढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ। प्रतिष्ठानबाट सुुरु प्रकाशन भएदेखि २०७९ साउनसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए।

‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता रु. ३ देखि नेपाली बृहत् शब्दकोशको रु. १ हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले सुनाए। यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ।

यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ। दैनिक सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन्। दैनिक रु १५ देखि २० हजारभन्दा बढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए।

प्रतिष्ठानले वर्षमा चारपटक पुस्तक प्रदर्शन गर्ने गरेको छ। नयाँ वर्षका अवसरमा वैशाख पहिलो साता, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार पहिलो साता, मोती जयन्तीका अवसरमा भदौ र पृथ्वी जयन्तीका अवसरमा पुस दोस्रो साता भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुने गरेको छ।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्