कालीकोटको स्याउ बजार पुर्याउन समस्या
कालीकोट, भदाै ६ : कालीकोटको स्याउ बजार पुर्याउन निकै समस्या भएको छ।जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन...
कालीकोट, भदाै ६ : कालीकोटको स्याउ बजार पुर्याउन निकै समस्या भएको छ।
जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो।
बगैंचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका-२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए।
'यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ। यातायात सेवा धेरै टाढाको दूरीमा छ', उनले भने, 'भारी बोकेर कर्णाली राजमार्ग पुर्याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ।'
कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पुर्याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिए। सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान समस्या रहेको रास्कोट नगरपालिका-८ फुकोटका किसान पुष्पराज बरालले बताए।
'बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौं,' उनले भने, 'हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो।'
कृषक बरालले भने, 'यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ। कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ।'
किसाले उत्पादन गरेको स्याउ बिक्रीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।
'किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ।' उनले भने,'यहाँको स्याउ विशुद्ध प्रांगारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन।'
-1786430634.png)










