भ्रमण छोट्याएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, मंसिर १३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
उनी शुक्रबार बिहान १० बजे त्रिभुवन विमानस्थलमा आर्ल....

काठमाडौं, मंसिर १३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
उनी शुक्रबार बिहान १० बजे त्रिभुवन विमानस्थलमा आर्लिएका हुन्। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो।’ मन्त्री ज्ञवालीले ‘परिस्थिति’बारे भने केही बोलेनन्।
उनी रसिया भ्रमण गएपछि प्रधानमन्त्री केपी शर्मा ओली अचानक बिरामी परेका थिए। उनको त्रिवि शिक्षण अस्पताल, महाजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ। प्रधानमन्त्री ओलीको उपचार जारी रहेको छ।
परराष्ट्रमन्त्री ज्ञवाली रसिया र सर्भियाको भ्रमणका लागि गत शनिबार मस्को प्रस्थान गरेका थिए। उनको मंसिर १३ गतेसम्मको भ्रमण तालिका थियो।
रसिया भ्रमणका क्रममा राष्ट्रपति भ्लादमिर पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको उनले बताए। भ्रमणका क्रममा उद्धार र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुराकानी गरेको उनले बताए।
त्यस्तै, सांघाई को–अपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रसियालाई आग्रह गरेको मन्त्री ज्ञवालीले बताए।











