साग उद्घाटनमा विजोर र समापनमा जोर नम्बरका गाडी मात्रै चल्ने
काठमाडौं, मंसिर १३ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)लाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा दुई दिन जोर र विजोर नम्बरका सवारी साधन मात्रै चल....
काठमाडौं, मंसिर १३ : १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)लाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा दुई दिन जोर र विजोर नम्बरका सवारी साधन मात्रै चल्ने भएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गरि सागको सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र व्यवस्थित पार्न जोर–विजोर नम्बर लागू गर्नु परेको जनाएको छ। महाशाखाका अनुसार, सागको उद्घाटन हुने मंसिर १५ गते विजोर नम्बरका सवारी साधन मात्रै चल्ने पाउनेछन्।
यो दिन अन्तिम अंक १, ३, ५, ७ र ९ भएका सवारी साधन मात्रै चलाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै, सागको समापन हुने मंसिर २४ गतेका दिन जोर नम्बर भएका सवारी साधन मात्रै चल्न पाउने छन्। यो दिन अन्तिम अंक ०, २, ४, ६ र ८ भएका सवारी साधन मात्रै चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।
यो सबै सवारी साधनमा लागू हुने महाशाखाले जनाएको छ।






