इन्द्रावती नदीले खेत कटान
काभ्रेपलाञ्चोक, भदाै ५ : इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ। मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा...
काभ्रेपलाञ्चोक, भदाै ५ : इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ। मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो।
स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पुर्याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो। उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो। उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए।
उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक पे्रमबहादुर लामाले बताए। अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ। माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए।
गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जनिम संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण गराए पनि कुनै चासो नदिएको लामाले बताए। 'हामी पीडितले खेत जोगाउनुपर्यो भनेर गत सालदेखि नै जनप्रतिनिधिलाई पटक–पटक भन्यौँ, तर वास्ता गरिएन', उनले भने।
नगर उपप्रमुख विष्णुमणि नेपालले नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि नगरको बजेटले नपुग्ने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्नुपर्ने बताए। उनले इन्द्रावती नदीले वर्षैपिच्छे खेतीयोग्य जमिनसँगै अन्य जमिन कटान गर्दा माझी बस्तीसमेत जोखिममा परेको बताए। उनले भने 'मण्डनमा नदीले कटान गरिरहेको ठूलो समस्या बनेको छ, योजना बनाएरै लाग्दैछौँ।'












