विश्व कीर्तिमानी आरोहीलाई भव्य सम्मान
काठमाडाैं, भदाै ४ : आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आराही सानु शेर्पालाई...
काठमाडाैं, भदाै ४ : आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आराही सानु शेर्पालाई सरकार तथा निजी क्षेत्रको तर्फबाट भव्य सम्मान गरिएको छ।
आरोहण सकेर आजै काठमाडौँ फर्कनुभएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल पर्वतारोहण सङ्घ, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका अगुवा संस्थाहरूले विमानस्थलमा आरोही शेर्पाको स्वागत गरेका थिए।
यही महिना पाकिस्तानको गासरब्रमु दोस्रोको सफल आरोहण गरी शेर्पा विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहोर्याएर आरोहण गर्ने विश्वकै पहिलो र एक्लो आरोही बनेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ।
कीर्तिमानी आरोही शेर्पालाई विमानस्थलमा स्वागतपछि र्यालीसहित सहर परिक्रमा गराइएको थियो। कीर्तिमानी आरोही शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटारस्थित निवासमा बोलाएर स्वागत तथा बधाई ज्ञापन गरे।
विमानस्थलबाट तीनकुने, बानेश्वर थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट ठमेल परिक्रमा गरी नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो।
सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाले सन् २००६ बाट आरोहणयात्रा सुरु गरेका थिए। पहिलोपटक चोयो हिमालको आरोहण गरेर १६ वर्षको अवधिमा आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान कायम गरे। उनले हालसम्म आठ हजार मिटर अग्गा हिमालको ४९ पटक आरोहण गरिसक्नुभएको छ। उनले सर्वोच्च शिखर सगरमाथाको सातपटक आरोहण गर्नुभएको छ भने पाकिस्तानको केटु दुईपटक आरोहण गरेका छन्।
कीर्तिमानी आरोही शेर्पाले आफ्नो आरोहणको कीर्तिमानले सिङ्गो देशको गौरव बढाएको बताए। उनले आरोहणलाई व्यवस्थित गर्दै आरोहीको सामाजिक सुरक्षाको विषयमा ध्यान दिनसकेको खण्डमा नेपालको पर्वतारोहण विश्वको आकर्षण र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे।
यस्तै आठ हजारभन्दा अग्ला १४ वटै हिमचुलीहरूको पहिलोपटक सफल आरोहण गर्नुभएका अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई पनि स्वागत तथा सम्मान गरिएको छ। सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नुभएका दोलखाका आरोही शेर्पाले हालसम्म आठ हजार मिटर अग्ला हिमाल ४४ पटक आरोहण गरिसकेका छन्। उनले सगरमाथाको नौपटक आरोहण गरेका छन्।
हालसम्म ६ जना नेपाली आरोहीले विश्वमा रहेका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गरेका छन्। हालसम्म विश्वका ४४ आरोहीले १४ वटै हिमालको आरोहण गरेको रेकर्ड रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए।
उनले आरोहीको कीर्तिमानले नेपालको मान र सान दुवै बढाएको बताए। उनले पर्वतीय पर्यटनको विकास भए मात्रै मुलुकको समग्र पर्यटन क्षेत्रको विकास हुने भन्दै आरोहणलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।












