९ वर्षीय बालक स्नातकोत्तर गर्ने तयारीमा
अन्य धेरै नौ वर्षीय बालकजस्तै लरेन्ट सिमन्सलाई पनि टेलिभिजन मनपर्छ।
घरमा पालेको कुकुर पनि मनपर्छ। तर उनी कृत्रिम अंग पनि बनाउन चाहन्छन्। र, अब चाँडै त्यसको य....
अन्य धेरै नौ वर्षीय बालकजस्तै लरेन्ट सिमन्सलाई पनि टेलिभिजन मनपर्छ।
घरमा पालेको कुकुर पनि मनपर्छ। तर उनी कृत्रिम अंग पनि बनाउन चाहन्छन्। र, अब चाँडै त्यसको योग्यता पनि हासिल गर्ने बाटोमा लम्किएका छन्।
बेल्जियमका यी बालकले डिसेम्बरमा नेदरल्यान्ड्सको आइन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन्।
त्यसपछि उनी विश्वकै कान्छा ग्राजुएट बन्नेछन्। उनी आफ्नो उपलब्धिबाट कति पनि विचलित छैनन्। सामान्यतया तीन वर्ष लाग्ने कोर्ष उनले मात्रै नौ महिनामा पूरा गरे। लरेन्ट यसलाई सामान्य मान्छन्। तर उनलाई यो सबै “कुल” पनि लाग्छ।
“म अहिले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दैछु। यसमा सर्किट, चिप डिजाइन गर्नुपर्छ,” उनले भने,“मलाई कार्टिङ असाध्यै मनपर्छ। अनि मेरो कुकुरसँग खेल्न र नेटफ्लिक्स हेर्न पनि मनपर्छ।”
प्रशंसाका लागि उनका शिक्षकहरूसँग शब्दको अभाव हुन्छ। “लरेन्टसँग असाधारण गुण छ,” ह्योर्ड ह्युलशोफले भने। उनी विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनियरिङका कार्यक्रम निर्देशक हुन्। यो कोर्षलाई कठिन मानिन्छ।
“यी बालक मैले देखेको सबैभन्दा तिक्ष्ण विद्यार्थी हुन्। उनी एकदमै बुद्धिमान हुनुका साथै असल पनि छन्,” उनले भने।
लरेन्ट विश्वविद्यालयको प्रयोगशालमा पढिरहन्छन्। उनका प्रिय मित्रहरू भने बेल्जियमको तटीय क्षेत्र ओस्टेन्डस्थित पुरानो विद्यालयको खेल मैदानमा “ट्याग” खेल्छन्। लरेन्ट भन्छन्,“मलाई प्राथमिक विद्यालय खासै याद हुँदैन तर मेरा साथीहरू अझै त्यहाँ छन्।”
यो वर्षको सुरूसम्म उनलाई बाजेबजुले हुर्काए। बुवा अलेक्जेन्डर र आमा लिडिया नेदरल्यान्डसमा काममा व्यस्त थिए। चार वर्षको उमेरमा उनले विद्यालय सुरू गरे। डेढ वर्षमै उनले प्राथमिक विद्यालयको अध्ययन पूरा गरे। प्राथमिकदेखि माध्यमिक विद्यालय हुँदै विश्वविद्यालय पुग्न उनलाई मात्रै पाँच वर्ष लाग्यो।
“अन्त्यमा उनका लागि जीवनको सन्तुलन खोज्नुपर्छ। उनले पनि बालापन बाँच्नुपर्छ,” ३७ वर्षीय अलेक्जेन्डर भन्छन्। उनी पेशाले डेन्टिस्ट हुन् जो रोटरड्याममा काम गर्छन्।
“उसलाई हुर्काउने बाजेबजुले हामीलाई भनिसके: ऊ बुद्धिमान छ, अरूभन्दा धेरै। अनि विद्यालय जाने उमेर पुगेपछि उच्च तहका लागि उनी परीक्षणमा सहभागी भइरहे,” २९ वर्षीया लिडियाले भनिन्। उनी पतिको सहायकका रूपमा काम गर्छिन्।
लरेन्टलाई पूर्ण समय दिन उनीहरू रोटरड्यामको क्लिनिक बिक्री गर्दैछन्। उनलाई दिनैपिच्छे विश्वविद्यालय पुर्याउनुपर्छ किनभने उनी आफैं जान सक्दैनन्। उनी धेरै साना छन्।
“उनी आफैं ट्रेनमा यात्रा गर्न सक्दैनन्,” बुवा एलेक्जेन्डरले भने। कुकुरबाहेक ल्यापटप र “इन्टिग्रेटेड सर्किट” को पुस्तक नै सबैभन्दा नजिकको साथी भएका लरेन्ट यो विषय किन यति सजिलै आउँछ बुझ्न नसकेको आमाबाबु स्वीर्काछन्।
डिसेम्बरमा डिग्री लिएपछि दीर्घजीवनका लागि कृत्रिम अंग बनाउनु नै आफ्नो लक्ष्य भएको लरेन्ट बताउँछन्।
कारण? उनी आफ्नो बाजेबजुजस्ता मुटुरोगीलाई सहयोग गर्न चाहन्छन्। “कसरी गर्छु त्यो हेर्न बाँकी नै छ। मैले भर्खरै सुरू गरेको छु” उनले भने। उनका आमाबाबु अमेरिकाका विश्वविद्यालयसँग सम्पर्क गरिरहेका छन्। उनीहरू छोराका लागि अर्को डिग्री खोजिरहेका छन्।
छोराले सञ्चारमाध्यमको ध्यानाकर्षण गरेको राम्रोसँग बुझेका एलेक्जेन्डर गायक र पपस्टारभन्दा फरक स्वस्थ वातावरणमा हुर्किरहेको बताउँछन्।
“कुनै दिन उसमा घमण्ड पलाएको वा अभिनय गरेको हामीले थाहा पायौं भने हामी उसको खुट्टा भुँइमा राखिदिनेछौं,”उनले भने।