‘प्रचण्ड, तपाईं पनि एक दिन वृद्ध हुनुहुनेछ’
पोखरा, मंसिर १२ : कास्कीको चिप्लेढुंगामा बिहीबार दिउँसो एउटा अनौठो दृश्य देखियो।
हातमा ज्येष्ठ नागरिकहरु प्ले कार्ड बोकेर सडक....
पोखरा, मंसिर १२ : कास्कीको चिप्लेढुंगामा बिहीबार दिउँसो एउटा अनौठो दृश्य देखियो।
हातमा ज्येष्ठ नागरिकहरु प्ले कार्ड बोकेर सडकमा उत्रिए। उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले ज्येष्ठ नागरिकहरुले कुनै नाराबाजी गरेनन्, मौन बसे। झण्डै आधा घण्टा प्ले कार्ड बोकेर सडकमा उत्रिएका उनीहरु त्यसपछि आआफ्नो गन्तव्यमा लागे।
उनीहरुले हातमा बोकेका प्ले कार्डमा लेखिएको थियो– तपाईं पनि एक दिन वृद्ध हुनुहुनेछ, वृद्धवृद्धालाई अपमान किन?, वृद्ध विरोधी प्रचण्ड मुर्दावाद...। ’ यो विरोधको संकेत थियो, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध।
बुधबार नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा होमिएका कांग्रेसका उम्मेदवार खेमराज पौडेलबारे तुच्छ टिप्पणी गरेका थिए।
प्रचण्डले भनेका थिए– हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षको बुढालाई। जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन।’
प्रचण्डको टिप्पणी कांग्रेसका उम्मेदवारलाई मात्रै थिएन, संसदमा प्रधानमन्त्री बिरामी हुनुहुन्छ, अब आराम गर्नु पर्छ भन्ने गगन थापाप्रति पनि लक्षित थियो।

प्रचण्डको यस्तो अभिव्यक्तिपछि कांग्रेसका उम्मेदवारले ट्वीटरमार्फत जवाफ दिएका थिए। खेमराजले प्रचण्डलाई ट्वीटरमा भनेका थिए – आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन, मंसिर १४ गतेपछि तपाईंको र मेरो भेट संसद भवनमा हुन्छ। त्यसपछि देवघाट जान परे सँगै जाउला। जय नेपाल।
प्रचण्डको अभिव्यक्तिपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ७० हाराहारीकै मान्छे प्रधानमन्त्री बन्न मिल्ने र त्यत्तिकै उमेरका खेमराज गुरु सांसद बन्न चाहिँ नमिल्ने ? भन्ने प्रश्न गरेका थिए।
‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने?’ शर्माले ट्वीटमा भनेका थिए।

वृद्धवृद्धालाई हेपेर प्रचण्डले अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना भइरहेको छ। त्यहीँ क्रममा ज्येष्ठ नागरिकहरु बिहीबार प्रचण्डको अभिव्यक्तिको विरोधमा सडकमा उत्रिएका थिए।






