सामाजिक सुरक्षा कोष र क्रिष्टल डायग्नोस्टिकबीच सम्झौता

काठमाडौं, भदौ ३ : काठमाडौं सिनामंगलस्थित क्रिस्टल डायग्नोस्टिक प्रालि र सामाजिक सुरक्षा कोषबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। स्वास्थ्य योजना बमोजिमका स्वास्थ्य सेवा सञ्चालन गर्ने सम्बन्धमा कोष र क्रिस्टलबीच बिहीबार सम्झौता भएको हो।
कोषको तर्फबाट निर्देशक उत्तमराज नेपाल र प्रशाशकीय अधिकृत ऋषिराम पाण्डे तथा डायग्नोस्टिक सेन्टरका प्रवन्ध निर्देशक रबिन्द्र केसी र प्रमुख कार्यकारी निर्देशक सुनिल राउतले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि क्रिस्टलले लगातार तीन महिना बढी योगदान गरेका योगदानकर्ताहरुको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा उल्लेख भएअनुसारका सेवाहरु प्रदान गर्नेछ।
सम्झौता अनुसार सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुका लागि क्रिस्टलले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गतका सेवाहरु सञ्चालन गर्नेछ । जसमा चिकित्सक परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रिया सेवा, रोगको परीक्षण तथा उपचार सेवा लगायतका सेवा दिइने उल्लेख छ।
स्वास्थ्य सेवा उपलब्ध गराएवापतको शुल्क मध्य ८० प्रतिशत शुल्क कोषले ब्यहोर्ने छ भने बाँकी २० प्रतिशत सेवा लिन आउने व्यक्तिबाट लिनुपर्ने सम्झौतामा उल्लेख छ।
क्रिस्टल डायग्नोस्टिक 'गुणस्तर व्यवस्थापन प्रणालीद्वारा ISO 9001:2015 तथा मेडिकल ल्याबरोटरिजबाट ISO 15189:2012 मान्यता प्राप्त प्रयोगशाला हो। क्रिस्टलले नेपाल सरकारबाट पनि विशिष्ट श्रेणी (क वर्ग) को मान्यता पाएको छ।












