Kathmandu Press

नक्कली जग्गा विक्रेतालाई सङ्गठित अपराध मुद्दा

नक्कली जग्गा विक्रेतालाई सङ्गठित अपराध मुद्दा

काभ्रेपलाञ्चाेक, भदाैं २ : नक्कली जग्गा बिक्री गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले ‘सङ्गठित अपराध मुद्दा’ दर्ता गरेको छ। अनुसन्धानका क्रममा उक्त प्रकरण सङ्गठित अपराध देखिएकाले सोहीअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

बनेपा नगरपालिका–५ मा हुँदै नभएको जग्गालाई ७६ कित्ताको प्लट बनाई बिक्री गर्ने गिरोहको ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगको मुद्दालाई सरकारी वकिल कार्यालयको परामर्शमा सङ्गठित अपराध मुद्दामा बदलिएको हो। यसअघि उक्त प्रकरणका आरोपीलाई ठगी र सरकारी छाप दस्तखत कीर्ते अभियोगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

Hardik ivf

प्रहरीका अनुसार उक्त अभियोगमा अनुसन्धानले एकपछि अर्को व्यक्तिको संलग्नता देखिँदै गएको छ। 'अब यो प्रकरणको सङ्गठित अपराधअनुसार थप अनुसन्धान गरिनेछ,' जोशीले भने। धादिङ घर भएका रवि रेग्मीले बिक्री गरेको भनिएका जग्गाको प्लटिङ तयार गरी कागजमा कित्ता तयार गर्ने इञ्जीनियर खानिखोला–५ तालढुङ्गा घर भई बनेपा बस्दै आएका निर्मल लामालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले यसअघि जिल्लास्थित मालपोत कार्यालयका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादवलाई पक्राउ गरेको थियो। नक्कली जग्गा खरिदकर्ताले गरेको उजुरीका आधारमा मुख्य योजनाकार भनिएका रेग्मी एक महिनाअघि पक्राउ परेका थिए। उक्त जग्गा बिक्री गर्न सघाउने लेखापढी व्यवसायी सीताकुमारी थापा र उनका श्रीमान् राजन भने फरार रहेको प्रहरीले जनाएको छ।

रेग्मीले साविक बनेपा–१ हाल बनेपा–५ मा पर्ने खोला किनारको (हाल प्लटिङ गरिएको) जग्गा देखाउँदै गत साउन ८ गते पास गर्ने गरी ७६ कित्ताको प्लट बनाएर नक्कली कागजातसहित लालपुर्जा तयार गरी ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरी उपरीक्षक जोशीका अनुसार एउटै प्लट देखाएर ठगिनेमध्ये आठ जनाको उजुरी परेको छ भने थप पीडित आउने क्रम पनि देखिएको छ। घडेरीका लागि उक्त जग्गामा विभिन्न खरिदकर्ताले करिब रु तीन करोड बैना गरिसकेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्