न्युजिल्यान्डमा सुटकेसभित्र दुई बालबालिकाको शव फेला
अकल्यान्ड, भदाै २ : साउथ अकल्यान्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका...
अकल्यान्ड, भदाै २ : साउथ अकल्यान्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पुरानो सामानहरूको भण्डारमा फेला परेको बताए।
न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक संकेतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौं वर्षदेखि सुटकेसभित्र रहेको हुन सक्ने अनुमान गरेको थियो।
वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको बताए। प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनले बताए। 'तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,' उनले भने।
'प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा अनुसन्धानको सकारात्मक सङ्केतहरू पछ्याइरहेको छ,' वाएलुआले भने। ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ।
'म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा संकेतहरू प्राप्त गरिरहेका छौं,' उनले भने।घटनाबारे थप जानकारी दिँदै वायलुआले भने, 'उनीहरूले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेका छन्। यद्यपि, घटना निकै पुरानो हुन सक्ने भएकाले यसलाई चुनौतीपूर्ण बनाइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।'
'हामी अनुसन्धानलाई निष्कर्षमा पुर्याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं। यो कुनै सजिलो अनुसन्धान होइन,' उनले भने।
उनले सञ्चारमाध्यमसँग धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै अनुसन्धानमा अन्यथा सम्झौता हुन सक्ने बताएका छन्। मृतकका आफन्तहरु न्युजिल्यान्डमा रहेको उनले बताए।
प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए र उनीहरु घटनामा संलग्न छैनन्। परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ।
सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो। यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठुला धातुका ढोकाहरू बन्द गरिएका थिए।












