‘आतंकवादी हमलाबाट मारिएका र घाइते भएकालाई बिर्सन मिल्दैन’
संयुक्त राष्ट्रसंघ, भदाै २ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आतंकवादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि बिर्सन नहुने बताएका...
संयुक्त राष्ट्रसंघ, भदाै २ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आतंकवादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि बिर्सन नहुने बताएका छन्।
यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई बिर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैं सुन्नुपर्ने महासचिव गुटर्रेसले बताएका हुन्।
आतंकवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरुको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको एक भिडियो सन्देशमा उनले सो कुरा बताएका हुन्।
यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरुको पिरमर्काहरु सबैले मनन गर्नुपर्ने उनले बताए।
आतंककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरुको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उनले बताए।
सो सन्देशमा उनले विश्वका सरकारहरुलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरुको हकअधिकारको संरक्षण र सम्बर्धनका लागि काम गर्न पनि आग्रह गरेका छन्।
यस्ता व्यक्तिहरुको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिन सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताएका छन्।












