Kathmandu Press

पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग

पाल्पा, भदौ २ : सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन शुरु गरेका छन्। साइलेज (मकै र घाँसलाई मेसिनबाट...
पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग

पाल्पा, भदौ २ : सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन शुरु गरेका छन्। साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन शुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गएका छन्।

रामपुर नगरपालिका–७ का गौतमले शुरुमा करीब तीन क्विन्टल साइलेज खरीद गरेका थिए। बाख्रालाई पोषिलो आहार उत्तम लागेपछि पुनः दोस्रो पटक दोब्बर खरीद गरे। अहिले उनले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउने गरेका छन्।

'गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्,' उनले भने।

Hardik ivf

रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र स्थानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्यालले बताए। अर्यालले यसअघि प्रतिकिलो १५ रुपैयाँका दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गरेका थिए। अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उनको भनाइ छ।      

यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन्। उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन्।

विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुशी छिन्। उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उनले बताइन्।

पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको ७५ रुपैयाँ ज्याला बुझ्छन्। उनी उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्छिन्। 'उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ,' उनले भनिन्।

उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन्। स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेलले बताए।

'पशुआहारका लागि साइलेज अति राम्रो छ,  बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन,' उनले भने।

उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ। सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ। मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ।

चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको  रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो। उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ।  

साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ। यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडेले बताए। (रासस)

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्