Kathmandu Press

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्दै

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्दै

बैतडी, भदाैं १ : सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल निरन्तररुपमा बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो।

गत एक महिनाको तथ्याङ्क हेर्दा यहाँ करिब एक हजार दुई सय थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्याङ्क हेर्दा एक हजार एक सय ९३ नयाँ सङ्क्रमित थपिएका छन्। सो अवधिमा सङ्क्रमणकै कारण एकजनाले ज्यान गुमाएको छ। गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको हो।  

Hardik ivf

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा सङ्क्रमण बढेको हो। उनले भने, 'भारतमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ।' भारतमा मजदूरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ। जोखिम कायमै रहेकोले यहाँका भारतसंँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो। उनले भने, 'नयाँ व्यवस्थापनको काम नभए पनि सीमानाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत जाँचमा कडाइ गरिएको छ।'

भारतसँग सीमा जोडिएका प्रदेशको गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेनमार्फत कोरोना परीक्षणको काम भइरहेको छ। हेल्थ डेस्कमा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ। उनले भने, 'सङ्क्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौँ, डाक्टरको सल्लाहमा सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेसनमा बस्न सुझाउने गरिएको छ।'

यसका साथै पहिला स्थापना गरिएका होडिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, कोरोना अस्पताल, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने काम भइरहेको निर्देशनालयले जनाएको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ७२ हजार सात सय ८७ को कोरोना परीक्षण गरिएकामा ६० हजार नौ सय ३४ मा सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३४ को ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, भदौ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्